विगतका बजेट प्राथमिकतालाई निरन्तरता दिइनुपर्छ : पूर्वअर्थमन्त्री कार्की



काठमाडौं,चैत ७ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई स्वामित्व लिएर सरकार अघि बढ्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

उनले निवर्तमान अर्थमन्त्रीले पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले अर्थतन्त्रको विद्यमान अवस्थालाई वास्तविक चित्रण एवं आगामी दिनमा तय गर्नुपर्ने बाटो अवलम्बन गरेको बताए । 

ठूला पूर्वाधार आयोजना निर्माण तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयार पारिएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री कार्कीले अर्थतन्त्रलाई ठीक ढङ्गले अघि बढाउन नसकिए थप समस्यामा पर्ने बताए । 

अहिले सार्वजनिक ऋणको दायित्व भुक्तानी र सामाजिक सुरक्षामा ठूलो रकम खर्च भइरहेको उनले बताउनुभयो । पूँजी निर्माण र उत्पादन तथा उत्पादकत्व बढ्ने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिनुपर्ने उनको भनाइ छ । 

प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्‍यो । उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा संशोधन पेस गर्न भनिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ७ गते बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्