नेपाल दक्षिण एसियाको सर्वाधिक खुसी देश कायमै, विश्व वरीयता भने खस्कियो



काठमाडौं,चैत ८ । नेपाल यस वर्ष पनि दक्षिण एसियाकै सर्वाधिक खुसी देश बनेको छ । विश्व खुसी प्रतिवेदन २०२४ (वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०२४)ले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार नेपालले ५.१५८ अंक पाएको छ । गत वर्ष भने नेपालले ५.३६० अंक हासिल गरेको थियो । 

दक्षिण एसियामा सर्वाधिक खुसी हुने देशको सूचीमा नेपालपछि पाकिस्तान छ । पाकिस्तानले ४.६५७ अंक हासिल गरेको छ । दक्षिण एसियामा सर्वाधिक खुसी देशको सूचीमा तेस्रोबाट पाँचौं स्थानमा क्रमशः भारत, श्रीलंका र बंगलादेश छन् । भारतले ४.०५४, श्रीलंकाले ३.८९८ र बंगलादेशले ३.८८६ हासिल गरेको छ । अफगानिस्तान भने यो सूचीमा सबैभन्दा पुछारमा छ । उसले १.७२१ अंक हासिल गरेको छ । 

विश्व वरीयतामा भने नेपाल ९३ औं स्थानमा छ । गत वर्ष भने नेपाल ७८ औं स्थानमा थियो । यसआधारमा नेपालमा खुसीको स्तर घटेको देखाउँछ ।

दक्षिण एसियामा पाकिस्तान १०८ औं, भारत १२६ औं, श्रीलंका १२८ औं र बंगलादेश १२९ औं स्थानमा छन् । अफगानिस्तान भने सबैभन्दा पुछारमा (१४३ औं स्थानमा) छ । गत वर्ष पनि अफगानिस्तान सबैभन्दा पुछारमा (१३७ औं स्थानमा) थियो । दक्षिण एसियाका भुटान र माल्दिभ्सलाई यो प्रतिवेदनमा समावेश गरिएको छैन । 

विश्वको सर्वाधिक खुसी हुने देशको शीर्षमा भने फिनल्याण्ड यथावत् नै छ । योसँगै फिनल्याण्ड लगातार सातौं पटक विश्वको सर्वाधिक खुसी देश बनेको छ । 

यस्तै डेनमार्क दोस्रो, आइसल्याण्ड तेस्रो, स्विडेन चौथो, इजरायल पाँचौं स्थानमा छन् । यसैगरी, नेदरल्याण्ड छैटौं, नर्वे सातौं, लक्जेम्बर्ग आठौं, स्विजरल्याण्ड नवौं र अष्ट्रेलिया दसौं स्थान हासिल गरेका छन् । यीमध्ये इजरायल र अष्ट्रेलियाबाहेक ८ देश युरोपमा पर्छन् । 

प्रतिक्रिया दिनुहोस्