बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान



काठमाडौं,चैत ९ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) बयान लिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आशंकामा सीआईबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै बिहीबार बयान लिएको हो । जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीका अनुसार चौधरीले भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिए।

चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बिहीवार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताएका छन् । उनले स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने प्रतिक्रिया दिएका छन् । 

‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ,’ चौधरीले भने, ‘४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’

प्रतिक्रिया दिनुहोस्