सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरासँगको बयान सकियो



काठमाडौं,चैत ९ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँगको बयान आज सकिएको छ ।

बुधवारबाट शुरु भएको बयान लिने कार्य बिहीबार सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए । 

बयान सकिएसँगै उनलाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनीमाथि चार दिनको म्याद लिएर सीआईबीले अनुसन्धान गरिरहेको छ । आज थपिएको म्याद सकिने अन्तिम दिन हो ।

उनीमाथि भोलि थप आवश्यक प्रक्रिया अघि बढाइने सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । 

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । 

अघिल्लो पटक सीआईबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । रासस

प्रतिक्रिया दिनुहोस्