आधा अर्बभन्दा बढीको यार्सागुम्बा ८ महिनामा निर्यात



काठमाडौं,चैत ९ । नेपालले चालु आर्थिक वर्ष (आव)को ८ महीनामा आधा अर्ब रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा नेपालबाट ६२ करोड ११ लाख ८४ हजार रुपैयाँ बराबरको १ हजार २७७ किलोग्राम यार्सागुम्बा विदेश निकासी भएको छ । गत आवको ८ महीनाको तुलनामा यो आवको उक्त अवधिमा यार्सागुम्बा निर्यात मूल्यका आधारमा ७० प्रतिशतले र परिणामका आधारमा १२६ प्रतिशतले बढेको छ ।

गत आवको साउनदेखि फागुनसम्ममा नेपालले ३६ करोड ३४ लाख २ हजार रुपैयाँको ५६४ किलोग्राम यार्सागुम्बा निर्यात गरेको थियो ।

नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, कम्बोडिया, चीन, चेक गणतन्त्र, ग्रीस, हङकङ, जापान, मलेसिया, मङ्गोलिया, रूस, सिङ्गापुर, संयुक्त अधिराज्य (युनाइटेड किंगडम), संयुक्त राज्य अमेरिका, भियतनाम लगायतका देशमा यार्सागुम्बा निकासी हुँदै आएको छ । 

उक्त अवधिमा नेपालबाट हङकङमा सबैभन्दा धेरै यार्सागुम्बा निर्यात भएको छ । हङकङमा मात्रै २७ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरको ४१२ किलोग्राम यार्सागुम्बा निकासी भएको छ ।

यार्सागुम्बा सर्वाधिक निर्यात हुने दोस्रो देशको सूचीमा चीन छ । उक्त अवधिमा चीनमा २२ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबरको ५७१ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । यस्तै, कम्बोडियामा ४ करोड ५१ लाख २१ हजार रुपैयाँ बराबरको ८८ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्