डुङ्गा दुर्घटना : थप ६ जना रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार



इन्डोनेसिया,चैत ९ । इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कुल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् । बेपत्ताहरूलाई जीवित भेट्ने अवस्था क्षीण बन्दै गएपछि हराइरहेका थप रोहिङ्ग्या शरणार्थीको खोजी कार्य अन्त्य गरिएको उनीहरूले बताएका छन् ।

उद्धार टोलीहरूले भनेका छन् , “बिहीबारदेखि बेपत्ता रोहिङ्ग्या शरणार्थीको खोजी अन्त्य गरिएको छ । डुङ्गा पल्टेपछि त्यसमा झुन्डिएर जीवन बचाउन सफल ७५ जनालाई उद्धार गरिएको छ ।”

आचेहस्थित स्थानीय खोज तथा उद्धार निकायका अधिकारी मोहम्मद फाथुर रचमानले भने, “बेपत्ता भनिएका यात्रुको सूची नभएको र घटनास्थल वरपरका स्थानमा खोजी गरिएको तर त्यहाँ थप व्यक्ति नभेटिएपछि उद्धार कार्य रोकिएको छ ।”

रचमानले भने, “उनीहरू समुद्रमा फसेको ४८ घण्टाभन्दा बढी भइसकेको र अब उनीहरू जीवित पाइने सम्भावना क्षीण बनेको साथै वरपरका स्थानमा खोजी गर्दा कुनै सङ्केत फेला नपरेकोले समुद्रमा उनीहरूको खोजी गर्नु अर्थपूर्ण नहुने देखिएपछि उद्धार कार्यलाई रोकिएको हो ।”

प्रतिक्रिया दिनुहोस्