सातौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १६ देखि



काठमाडौं,चैत १२ । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० यही चैत १६ देखि आयोजना गरिने भएको छ । आयोजक महिला उद्यमी महासंघले शुक्रवार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । 

२० गतेसम्म सञ्चालन हुने उक्त मेला सानेपाको हेरिटेज गार्डेनमा हुने भएको छ । महासंघकी अध्यक्ष शोभा ज्ञवालीका अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने बताइएको छ । 

उक्त मेला ५० हजारले अवलोकन गर्ने र यसबाट पाँच करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य मेला आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । मेलाले उद्यमी महिलाहरूको शीपलाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तरर्रा ष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सघाउ पु¥याउने अध्यक्ष ज्ञवालीले बताइन् ।

महासंघकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा जम्मा ११२ वटा स्टल रहनेछन् । मेलामा स्वदेशीसँगै भारत, पाकिस्तान, बङ्गलादेशलगायत देशका महिला उद्यमीका उत्पादनहरू पनि किन्न र अवलोकन गर्ने अवसर पाइने बताइएको छ । यस्तै मेलामा हस्तकलाका उत्पादनको प्रत्यक्ष अवलोकनको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । 

मेलामा विभिन्न जिल्लाबाट सहभागी महिला उद्यमीलाई प्रोत्साहनस्वरूप विभिन्न विधामा उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिनेछ । जसमा उत्पादित वस्तुहरूको प्रदर्शनी, स्टल सजावट प्याकेजिङ्ग तथा लेबलिङ्ग आदि आधार रहने आयोजकले जनाएको छ । 

उक्त मेला उद्घाटन समारोहमा महिला उद्यमीका संघर्षका कथा समेटिएको पुस्तकसमेत सार्वजनिक गरिने अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्