सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार लागि परेको छ : गृहमन्त्री लामिछाने



चितवन,चैत १२ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । 

आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए । उनले भने, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।’ 

सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उनले बताए । 

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।  

सरकारले गरेका कामको नतिजा पूर्णरूपमा आउने उनको भनाइ थियो । उनले भने, ‘कहीँकतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।’ 

प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्