बागमती प्रदेशमा न मन्त्रीपरिषद् विस्तार न त विश्वासको मतकै टुङ्गो



काठमाडौं,चैत १२ । केन्द्रमा सत्ता समीकरणपछि बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको तीन साता पुग्न लागेको छ तर छ जना मन्त्रीको राजीनामापछि सरकारलाई पूर्णता दिन न सरकार विस्तार हुन सकेको छ न त सरकारले विश्वासको मत लिनेबारेमा टुङ्गो नै लाग्न सकेको छ ।

अल्पमतमा परेपछि मुख्यमन्त्रीले ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसका मन्त्रीहरूले गत फागुन २३ मा सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेका नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारको निरन्तरताका लागि चैत २२ गतेभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ तर विश्वासको मत पाउने नपाउने र मुख्यमन्त्री जम्कट्टेल नै लिने वा नलिने भन्ने टुङ्गोमा नपुग्दा अन्योल बढ्दै गएको छ ।

केन्द्रमा सत्ता समीकरण गरेका दलहरूबिच कुन दलले कुन प्रदेश लिने भन्ने अझै निर्णय हुन सकेको छैन । प्रदेशका बारेमा केन्द्रकै भर पर्नु पर्दा प्रदेशमा नेतृत्वसँगै प्रदेश सरकारका कामबारे पनि अन्योल बढ्दै गएको हो । पछिल्लो पटक बनेको सत्ता गठबन्धनमा रहेको नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेल माथिल्लो तहमा टुङ्गो नलाग्दा प्रदेशहरू टुङ्गोमा पुग्न नसकेको बताउछन । “प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेसबाहेकका सबै दलसँग फेरिएको समीकरण अनुसार विश्वासको मतका लागि छलफल भइरहेको छ,” प्रमुख सचेतक मधुसूदन पौडेलले भने, “कुन प्रदेश कसको भागमा पर्छ भनेर निर्णय नभइसकेकाले समस्या भएको छ ।”

उनले सबै प्रदेशको प्याकेजमा नै सहमति हुने भन्दै केन्द्रमा नै भागबन्डामा अड्किएकाले अन्योलको अवस्था देखिएको बताए । दलहरूका आआफ्नै अडान र भागका कारण पनि केन्द्रमा छलफल भए पनि भागबन्डा मिल्न सकेको छैन । सत्ता गठबन्धनमा नै रहेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद दाहालले विश्वासको मत लिनेबारे अन्य दलसँग छलफल नभएको बताए । “बागमती प्रदेशमा मुख्यमन्त्रीमा हाम्रो पनि सशक्त दाबी हो,” उनले भने, “कुन प्रदेशमा कसले नेतृत्व गर्ने र कसले पाउँछ भन्ने निर्णय नै भएको छैन । विश्वासको मत जुटाउनका लागि कसरी र कसका लागि पहल गर्ने ?”

उनले चैत २२ गतेभित्रमा विश्वासको मत लिइसक्नुपर्ने र अहिलेको अन्योल समाधान गर्न माथिबाट नै निर्णय हुनुपर्ने बताउँदै यस प्रदेशमा अहिलेकै नेतृत्वले निरन्तरता पाउने वा फेरिने भन्ने निर्णय भएमा विश्वासको मत जुटाउन लाग्ने वा राजीनामा दिने टुङ्गो लाग्ने बताए । 

सत्ता गठबन्धनमा रहेका दलसँग सरकार गठनका लागि स्पष्ट बहुमत नभएकाले एमाले र माओवादी केन्द्र प्रदेश सभा प्रतिनिधित्व गर्ने साना दलको समर्थन जुटाउन प्रयासरत छन् तर साना दल वर्तमान सत्ता गठबन्धनलाई समर्थन गर्नेबारेमा निर्णयमा पुग्न सकेका छैनन् । साना दल निर्णयमा पुग्न नसकेकाले प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलको निरन्तरताप्रति समेत अन्योल देखिएको छ ।

मुख्यमन्त्री जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी केन्द्रका नेता डिपी ढकाल विश्वासको मत जुटाउन पहल र छलफल भइरहेको बताउछन् । “छलफल सकारात्मक छ तर केन्द्रबाट यो प्रदेश कसको भागबन्डामा पर्ने भन्ने टुङ्गो लागेको छैन,” उनले भने, “नेताहरूले समय दिन नभ्याएर होला, अब अलि फुर्सद भएको छ एक/दुई दिनमा निर्णय हुन्छ होला ।” 

यस प्रदेशमा सत्ता गठबन्धनका लागि बहुमत पु-याउन एक जना प्रदेश सभा सदस्य अपुग रहेको छ । ११० जना प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा बहुमतका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ तर सत्ता गठबन्धनमा रहेका दलसँग ५५ जना प्रदेश सभा सदस्य छन् । 

दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीले आफैँले मुख्यमन्त्रीको दाबी गरेको छ । उता तीन जना प्रदेश सभा सदस्य रहेको नेपाल मजदुर किसान पार्टी र १३ जना प्रदेश सभा सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एमाले र माओवादी केन्द्रले विश्वासको मतका लागि छलफल गरे पनि नेमकिपा र राप्रपा दुवै पार्टी निर्णयमा पुगिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्