वरिष्ठ साहित्यकार सुवेदीको निधन



काठमाडौं,चैत १४ । वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। 

क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उनको पार्थिव शरीरलाई बुधबार नै  विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिने उनका छोरा तथा गोरखापत्रका सहसम्पादक शरदराज सुवेदीले जानकारी दिए । 

भोजपुरको दिङ्लामा जन्मनु भएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय थिए ।  उनका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् । पुस्तक लेखन मात्रै होइन उनी समालोचना गर्न पनि त्यतिकै जागरुक थिए ।सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीका समालोचना सङ्ग्रह विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्