सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रमाण देखिएनः महानिरीक्षक कुँवर



काठमाडौं,चैत १४ । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताएका हुन् ।

उनले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताए ।उनले जिबी राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताए । राई मलेसियामा भए पनि नेपाल र मलेसियाका बिचमा सुपुर्दगी सन्धि नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताए ।

महानिरीक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको स्पष्ट पारे। उनले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्