दलहरूलाई उपनिर्वाचनको चटारो : एमाले–एकीकृत समाजवादीले छाने उम्मेदवार, कांग्रेस र माओवादी केन्द्र छलफलमै !



काठमाडौं,चैत १५ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ–१ (१) मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन आउन एक महीना बाँकी रहँदा देशका मुख्य राजनीतिक दलहरूलाई भने चुनावी चटारो छ । उपचुनाव नजिकिँदा केही दलले उम्मेदवारको नाम टु‌ंग्याएका छन् भने केही यसका लागि छलफलमै छन् ।

सत्तारुढ प्रमुख दल नेकपा एमालेले इलाम–२ क्षेत्रका लागि उम्मेदवार तोकिसकेको छ । उसले स्व. सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उक्त क्षेत्रका लागि उम्मेदवार बनाएको छ । एमालेले बझाङ प्रदेशसभा सिटका लागि भने उम्मेदवार तोकिसकेको छैन । 

प्रमुख प्रतिपक्षी एवं संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने उम्मेदवार टुंग्याउन छलफलमै छ । इलाम–२ को उम्मेदवार छान्न कांग्रेसको कोशी प्रदेश समिति र बझाङ–१ (१) को उम्मेदवार छान्न सुदूरपश्चिम प्रदेश समितिले आकांक्षीको नाम केन्द्रमा पठाइसकेका छन् ।

कांग्रेसको कोशी प्रदेश समितिले इलाम–२ को उम्मेदवारका लागि ७ जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस पठाएको छ, जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ छन् । 

यस्तै, कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले बझाङ–१(१) को उम्मेदवारका लागि गत आइतवार १० जनाको नाम केन्द्रमा पठाइसकेको जनाएको छ, जसमासत्यराज भण्डारी, शान्ति कुमारी बोहरा (पुजारा), जगतप्रसाद जोशी, अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा छन् । कांग्रेसको बझाङ जिल्ला समितिले उक्त क्षेत्रमा उम्मेदवार छान्नका लागि यिनै १० जनाको नाम प्रदेश समितिमा पठाएको थियो । 

बझाङ प्रदेशसभामा उम्मेदवार छान्नका लागि जिल्ला समितिले पठाएकै नाममा रायसुझावसहित केन्द्रमा सिफारिस गरि पठाइएको प्रदेश समितिका प्रवक्ता सुरत रावत ‘डोटेली कान्छा’ले बताए । कांग्रेसले चैत २० गतेसम्म दुवै क्षेत्रका उम्मेदवार तय गरिसक्ने बताइएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार तय गरिसकेको छैन । माओवादी केन्द्रले इलाम जिल्ला कमिटीले भने इलाम–२ को उम्मेदवार लागि भने चार जनाको नाम केन्द्रमा सिफारिस गरेको बताइएको छ, जसमा केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मासहित प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरूङ छन् । 

सत्ताको अर्को घटक नेकपा एकीकृत समाजवादीले भने दुवै सिटका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राईलाई र बझाङ–१(१) मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही चैत १७ गते उम्मेदवार घोषणा गर्दैछ । 

यो उपनिर्वाचनमा सत्तारुढ दलहरूले छुट्टाछुट्टै लड्ने तयारी गरेकाले उपचुनाव रोचक हुने आँकलन गरिएको छ । यद्यपि उपनिर्वाचनमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने विश्लेषकहरू बताउँछन् ।   

उक्त उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचन आयोगले उक्त उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । 

यसअघिको निर्वाचनमा इलाम–२ बाट एमालेका सुवास नेम्वाङ र बझाङ–१ (१) बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । यी दुवै निर्वाचित उम्मेदवारको निधन भएपछि दुइटै क्षेत्र रिक्त छन् । नेम्वाङको गत भदौ २६ गते र सिंहको गत असार ५ गते निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्