नेपाल–भारत विद्युत् आयात सम्झौता : ३ महीनाका लागि मात्रै नवीकरण, परिमाण पनि घटायो



काठमाडौं,चैत १६ । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता ३ महीनाका लागि मात्रै नवीकरण भएको छ । एक वर्षका लागि सम्झौता हुनुपर्ने भएता पनि सम्झौता गर्न अनिच्छा देखाएको भारतले हाललाई जुनसम्मका लागि मात्रै नवीकरण गरेको हो । भारतले विद्युत् परिमाण पनि घटाएको छ ।

प्राधिकरणका अनुसार बुधवार राति मात्रै यसको जानकारी आएको हो । हाललाई जुनसम्मलाई मात्रै नवीकरण भएको र त्यसपछि नेपालकै आन्तरिक उत्पादनले धान्ने भएकाले खासै समस्या नहुने प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले बताए । 

उनका अनुसार हाल ढल्केबर–मुजफ्फरपुरबाट ५ सय मेगावाट र टनकपुर प्रसारण लाइनबाट ५४ मेगावाट गरि ५५४ मेगावाट विजुली आयात हुने छ । नवीकरण भए अनुसार उक्त बिजुली सोलार आवर अर्थात् दिनमा (बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म) मात्रै पाइने छ । यसअघि भने दिनमा २४ घन्टा आवश्यकताअनुसार आयात हुने गरेको थियो ।

यसरी दिनमा मात्रै आयात हुने र रातको समयमा लोड नपुग्न सक्ला नि ? भन्ने अभियानको प्रश्नमा उनले प्राधिकरणसँग पिकिङ प्लान रहेको तथा पछिल्लो समय मौसमले समेत साथ दिएकाले समस्या नआउने बताए । ‘हामीसँग पिकिङ प्लान छ । मौसमले पनि साथ दिएको छ । झन्डै १५० मेगावाट बिजुली पछिल्लो वर्षात्का कारण थपिएको छ, समस्या हुँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्