मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन



वासिङ्टन डिसी (अमेरिका),चैत १६ । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन भएको छ । सन् २००२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता डेनियलको ९० वर्षको उमेरमा निधन भएको हो । 

अमेरिकाको प्रिन्सटन विश्वविद्यालयले उनको मृत्युको घोषणा गरेको छ, जहाँ उनी सन् १९९३ देखि काम गरिरहेका थिए । 

उनी व्यवहारात्मक अर्थशास्त्रका पर्यायवाची मानिन्छन्, यद्यपि उनले अर्थशास्त्रको औपचारिक शिक्षा भने लिएका छैनन् । उनी सबैभन्दा धेरै विक्री हुने पुस्तक ‘थिंकिङ, फास्ट एन्ड स्लो’ लेखक पनि हुन् । उक्त पुस्तक सन् २०११ मा प्रकाशित भएको थियो ।

उक्त पुस्तकले निर्णय गर्ने मनोविज्ञानको व्याख्या गरेको छ । पुस्तकले मानिसको सोच्ने र छनौट गर्ने दुईओटा तरिकाबारे दर्शाएको छ । पहिलो– छिटो, सहज र भावनात्मक । दोस्रो– ढिलो, थप विचारशील र थप तार्किक । 

उनीबारे प्राध्यापक एल्डर शफिरले भने, ‘डेनियल एक विशाल, एक प्रिन्सटन स्टार, एक शानदार मानिस, एक महान सहकर्मी र मित्र थिए ।’  

डेनियल सन् १९३४ मा इजरायलको तेल अभिभमा जन्मिएका थिए । उनले आफ्नो बाल्यकाल भने फ्रान्समा बिताएका थिए, त्यहाँको एक रसायन कारखानामा उनका बुबा अनुसन्धान प्रमुख थिए । 

सन् १९४८ मा उनको परिवार प्यालेस्टाइनमा सरेको थियो । उनले सन् १९५४ मा जेरुसेलमको हिब्रु विश्वविद्यालयबाट स्नातक गरेका थिए । त्यसको चार वर्षपछि उनले अमेरिकाको क्यालोफोर्निया विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि शुरु गरेका थिए । 

त्यसपछि सन् १९६१ मा उनी जेरुसेलम फर्किएका थिए । उनी मनोविज्ञान प्राध्यापकको रूपमा आफ्नो करिअर शुरु गर्न जेरुसेलम फर्किएका थिए । त्यहाँ उनको भेट संज्ञानात्मक मनोवैज्ञानिक आमोस टिभरस्काईसँग भयो । उनीसँगको भेटले उनलाई अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने मार्गमा डोर्याएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्