नुवाकोटको पूर्वी भेगसहित विभिन्न ठाउँमा असिनासहित वर्षा

नुवाकोट,चैत १७ । जिल्लाको पूर्वी भेगसहित विभिन्न ठाउँमा असिनासहित वर्षा भएको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले नुवाकोटसहित काठमाडौं उपत्यकामा वर्षा भएको हो ।
शनिबार साँझ नुवाकोटको पूर्वी क्षेत्रसहित पहाडी भूभागका विभिन्न ठाउँमा असिनासहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हावाहुरीसहित आएको असिनापानीले गहुँ तथा हिउँदे चैते धानको रोपाइ खेतमा समेत असर परेको स्थानीय किसानले बताएका छन् । हावाहुरीसहितको असिनापानीले जिल्लाको पूर्वी भेगका पञ्चकन्या, शिवपुरी, ककनी, बेलकोटगढी लगायतको क्षेत्रमा ज्यादा असर परेको बताइएको छ ।
यसैबीच हावाहुरीसहितको वर्षाका कारण जिल्लाको सिमित क्षेत्र बाहेक सम्पुर्ण क्षेत्रमा बिजुलीबत्ती अवरुद्ध भएको छ । क्षतिको आकलनबारे प्रारम्भिक अध्ययन पश्चात् बिजुली सूचारु हुने प्राधिकरणले जनाएको छ ।