अल्लो उद्योगमा ३५ जना बढी महिलालाई रोजगारी



घोराही (दाङ),चैत १८ ।  तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छन्। ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएका हो । चालिस वर्षिया पुनको घरमा बुवा, आमा, दाई र आफूसहित दुई दिदीबहिनी छन् । आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्दै जाँदा बिहे गर्नुपर्छ भन्ने सोचसमेत नआएको उनले बताए  ।

विसं २०५७ मा पूर्वी रुकुमबाट दाङ बसाइँ  सरेका पुनले घोराही–१३ मा सञ्चालन गरेको व्यवसायबाट प्रशस्त आम्दानी गर्दै आएका छ । सानै उमेरदेखि अल्लो उद्यममा लागे पनि व्यावसायिकरुपमा विसं २०७३ देखि लागेको पुनले जानकारी दिए । उनका अनुसार अहिले उद्योगमा ३५ जना बढी स्थानीय महिलाले रोजगार पाएका छन् । उद्योगमा आबद्ध महिला आजभोलि सेवार खोलामा घरेलु प्रविधिबाट प्रशोधन गर्नका लागि जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्नेलगायत काम गर्दै आएका छन् । 

यी सबै प्रक्रिया पूरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुन्छ । उद्योगमा काम गर्दै आएका महिलालाई उद्योगका प्रमुख तिलकुमारीले आठ घण्टा काम गरेबापत दैनिक रू पाँच सय दिने गरेको बताए  । उनले आवश्यक कच्चापदार्थ दार्चुला, अछाम, बाजुराबाट ल्याउने गरेको उनको भनाइ छ । आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्टि रहेको बताउँदै उनले वार्षिक रू पाँच लाख आम्दानी गर्दै आएको जानकारी दिए । अल्लोको कपडामात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी पुनले बताए  ।

“कपडा तयार गर्नसके थोरै धागोबाट राम्रै आम्दानी हुन्छ”, उनले भने, “धागो दाङसहित जिल्ला बाहिर बिक्ने गरेको छ ।” तयारी कपडा पनि राम्रो बिक्री हुने गरेको भन्दै अल्लोको धागो काठमाडौँ र भारतसम्म पठाउने गरिएको उनले जानकारी दिए । “पहिले घरधन्दामै दिन बित्थ्यो”, अर्का उद्यमी मनमाया रोकाले भने, “अहिले घरको सबै काम सकेर पनि उद्यमले दिएको रोजगारले राम्रो आम्दानी भइरहेको छ ।” ७० वर्षीया मनमाया आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गर्दै आएको बताइन्  । 

बसेर काम गर्दा धेरै दुःख नहुने उनको अनुभव छ । घरमै खाली बसिरहनुभन्दा आफ्नो खर्च आफैँ काम गरेर जुटाउन सफल भएको भन्दै रोकाले खुसी व्यक्त गरिन् । उनका अनुसार उद्योगमा अल्लोबाट कोट, ब्याग, जुत्ता, सललगायत सामग्री पनि उत्पादन हुने गरेको छ । अल्लोको धागोलाई सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको अल्लो उद्योगमा काम गर्दै आएका घोराही–१८ का भूमिका रोकाले बताए  । आजभोलि छोराछोरीको वार्षिक परीक्षा सकिएको हुँदा खाली समयमा यही उद्योगमा काम गर्दै आएको उनको भनाइ छ । 

खाली समयको पनि सदुपयोग हुने र कमाइ हुने हुँदा आफूजस्ता धेरै स्थानीय महिलालाई सहज भएको रोकाले बताए  । उनका अनुसार देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि यहाँका उद्यमीले अल्लोका कपडा लैजाने गर्छन् । उद्योगमार्फत अन्य दिदीबहिनीलाई पनि खाली समयको सदुपयोग गर्दै स्वरोजगारमा जोड्न पाएका पुनको भनाइ छ । 

उद्योगमा काम गर्दा आर्थिक आम्दानी हुनुका साथै खाली समयको समेत सदुपयोग भइरहेको उद्योगमा सहभागी महिलाको भनाइ छ । अर्काको देशमा दुःख पाउनुभन्दा स्वदेशमा स्वरोजगार बन्न आवश्यक रहेको पुनले बताए  । महिलालाई स्वरोजगार बनाउन स्थानीय सरकारले विशेष योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्