सुरु हुँदै छ चन्द्रमाको कित्ताकाट र ब्यापार, यस्तो छ नासाको तयारी



काठमाडौं,चैत १८ । ५० वर्षपछि पुनः एक पटक नासाले चन्द्रमातर्फ आफ्नो कदम अघि बढाएको छ । यो कुनै सामान्य यात्राको लागि होइन । पहिलो पल्ट मान्छे चन्द्रमामा बस्न र काम गर्न जाँदै छन् । अमेरिकी अन्तरिक्ष एजेन्सीले ‘आर्टेमिस मिशन’ भनिएको अन्तरिक्ष अभियानलाई कयौं चरणमा अघि बढाएको छ । जसले चन्द्रमामा स्थायी आधारभूमि (बेस) तयार पार्ने बाटो खोलिरहेको छ ।

पाँच दशक पहिले नै चन्द्रयानको मिसन त्यागिसकेको अमेरिका अहिले चन्द्रमामा शहर बसाल्ने रणनीतिमा धेरै अघि बढिसकेको छ । ४७ वर्षपछि रूसले चन्द्रमामा आफ्नो यान पठाएको छ । रूस र चीनले चन्द्रमामा आधार क्षेत्र खोजि गर्ने रणनीतिमा काम गरिरहेका छन् ।

नासाले यसका लागि अधिकतर ठेक्काहरू प्रविधि क्षेत्रमा काम गर्ने निजी कम्पनीहरूलाई दिइरहेको छ । मिशनको पहिलो चरणमा सन् २०२२ मा एक मानवरहित ‘स्पेस क्याप्सुल’ले २५ दिनसम्म चन्द्रमाको परिक्रमा गरेको थियो । यो साल (२०२४ मा) अन्तरिक्ष यात्रीहरू पनि चन्द्रमामा पुग्ने तयारी गरिरहेका छन् । रूस, चीन र भारत पनि यस्तै प्रकारका अन्तरिक्ष अभियानमा होमिएका छन् ।

यद्यपि, चन्द्रमामा निवास गर्न सजिलो चाहीँ छैन । हाम्रो ग्रहबाट ३,८४,४०० किलोमिटर टाढाको यो उजाड जमीनमा अनेकौं कठिनाइ मौजुद छन् । यसको सतहको तापक्रम पूर्ण सूर्य चम्केको बेलामा १२७ डिग्रीसम्म पुग्छ भने अँध्यारोमा ० देखि माइनस १७३ डिग्री सेल्सियसभन्दा तलसम्म झर्ने गरेको छ ।

हालको अनुमान अनुसार लगभग ४.५ अर्ब साल पहिले (पृथ्वी सँगसँगै) चन्द्रामाको निर्माण भएको मानिन्छ । धर्तिका समुद्रमा ज्वारभाटा निम्त्याउने कारक चन्द्रमामा पानी छ भन्ने निश्चित खोज सर्वप्रथम सन् २००८ मा भारतीय मिशन ‘चन्द्रयान–१’ ले गरेको थियो । त्यसबेला चन्द्रमाको ध्रुवीय सतह ‘हाइड्रोक्सिल अणु’ भेटिएको थियो ।

पानीको उपलब्धता चन्द्रमाको हालसम्मको खोजमा सबैभन्दा ठूलो उपलब्धि मानिएको छ । यहाँ उपलब्ध पानीले मानिसलाई लामो समयसम्म त्यहाँ रहनसक्ने संभावनाको ढोका खोलेको छ । यसले मानव जीवनलाई संभाव्यमात्रै बनाएको छैन, पानीबाट हाइड्रोजन र अक्सिजन बनाउने सकिने बाटो खोलेको छ । भविष्यमा रकेटको इन्धनको रुपमा पनि पानीको उपयोग हुनसक्छ ।

तर त्यहाँ पानी पृथ्वीमा जस्तो स्वरुपमा छैन । यसलाई उत्खनन गरेर हामीले उपयोग गरिरहेजस्तो स्वरुपमा ढाल्न ठूलै परिश्रम गर्नु पर्ने छ । यस्तो अवस्थामा वैज्ञानिकहरू त्यहाँ कसरी अनुसन्धान गर्न सक्लान् ?

कसरी भइरहेको छ तयारी ?

यसका लागि वैज्ञानिकहरूले अन्तरिक्षमा जिवित रहन र आपसमा सम्पर्क सञ्जाल स्थापित गरिरहन आवस्यक तयारी गर्नुपर्ने छ । चन्द्रमामा पानी र खनिजको खोजका लागि आवस्यक पर्ने सरल तरिकाहरू पत्ता लगाउन पनि आवस्यक छ ।

यिनै खोजका लागि भनेर नासाले ‘वाइपर मून रोवर’जस्ता मानवरहित रोबोटमा ठूलो लगानी गरिरहेको छ । अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले पनि एउटा यान बनाएको छ ।

अमेरिकी बहुराष्ट्रिय अटो निर्माता कम्पनी जनरल मोटर्सले पनि त्यहीँको अर्को प्रविधि एवम् एरोस्पेस कम्पनी ‘लकहीड मार्टिन’सँग मिलेर चन्द्रमामा ब्याट्रीबाट चल्ने रोबोट बनाउन काम गरिरहेको छ । यी सबै रोबोटहरू चन्द्रमाका ध्रुवीय इलाकामा भारी मात्रामा रहेको पानी निकाल्नका लागि बनाइँदै छन् ।

त्यसपछि आवस्यक हुन्छ, बस्ने घर । यसमा अहिले देखिएको महत्वपूर्ण ब्यावसायिक संशाधन हो, मून डस्ट अर्थात् चन्द्रमाको धूलो । त्यहाँ यो धूलो असाध्यै ठूलो परिमाणमा छ । नासाको योजना पनि खास तरिकाका उत्खनन रोबोटको सहाराले यस्तो चन्द्रधूललाई जम्मा पर्नु हो । यस्ता रोबोटहरू अहिले परीक्षणको पहिलो चरणमा छन् ।

चन्द्रधूलको उपयोग घर बनाउनका लागि हुने छ । भवनको हिस्सा तयार पार्नका लागि थ्रि डी प्रिन्टरको उपयोग हुने छ । सुरुमा पृथ्वी र पछिमात्रै चन्द्रमामा यी सब काम गरिने छ, ताकी यातायातको खर्च बचोस् ।

फर्निचररहित यी घरहरू आरामदायी हुने विस्वास गरिएको छ । घरको बन्दोबस्त भएपछि त्यहाँ बस्ने मानिसका लागि विजुली र इन्टरनेट पनि चाहिएला । चन्द्रमामा फोर जी इन्टरनेट चलाउने योजना नोकियाले तयार पारिरहेको छ ।

अन्तरिक्ष अनुसन्धानको सबैभन्दा आकर्षक हिस्सा ‘स्पेस रकेट’ हो । एलन मस्कको कम्पनी स्पेस एक्स यसमा सबैभन्दा अगाडी छ । त्यहाँ आर्टेमिस मिशनको तेस्रो र चौंथो चरणका लागि रकेट बनिरहेको छ । ती रकेटहरू पृथ्वीबाट कयौं टन सामान बोकेर चन्द्रमामा पुग्न सक्षम हुनेछन् । यस्ता रकेट विकसित गर्नमा नासाले अर्बौं डलर लगानी गरिरहेको छ ।

ती रकेटहरू प्रक्षेपण गर्ने कयौं प्रयास विफल हुँदै आएका छन् । तर छिट्टै नै यसमा सफलता मिल्ने संभावना बढ्न थालेको छ । चन्द्रमामा आधार क्षेत्र (बेस) खडा गर्न अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (इन्टरनेशनल स्पेस स्टेशन) कै जस्तो सामान चाहिन्छ । ती सामानको लगातार आपूर्ति पनि जरुरी हुन्छ । यसका लागि एलन मस्कको कम्पनीले ठूलो मिहेनत गरिरहेको छ ।

नासाले आगामी दिनमा चन्द्रमाको यात्रामा जाने अन्तरीक्ष यात्रीहरूलाई ज्यादा ‘स्टाइलिस’ देखाउने रणनीति पनि अघि सारेको छ । त्यहाँ वैज्ञानिकहरू जाने भएकाले उनीहरूका लागि आवस्यक पोशाक निर्माण गर्ने काम पनि सुरु भइसकेको छ । यसका निम्ति फेसन कम्पनी प्राडाको साथमा मिलेर सूट डिजाइन गरिँदै छ ।

चन्द्रमाको आकर्षण अन्तहिन छ । वैज्ञानिकहरू त्यहाँ असीमित संभावनाको संसार रहेको बताउँछन् । तर हालका लागि यो कयौं नयाँ विजनेश सोच अघि सार्न प्रेरणाको स्रोत बनेको छ । चन्द्रमामा पुग्ने होडबाजीका पछाडी कयौं दम्भ र स्वार्थहरू पनि छन् ।

हिलियम ३

चन्द्रमाप्रतिको एक मुख्य आकर्षण ‘हिलियम–थ्री’ हो । यो हिलियमकै एक प्रकार वा प्रजाति (आइसोटोप) हो । युरोपियन स्पेस एजेन्सीका अनुसार हिलियम थ्रीले ‘फ्युजन रियाक्टर’मा अत्यधिक ऊर्जा प्रदान गर्न सक्छ ।

एउटा अणुमा दुई प्रोटोन र एक न्यूट्रोन हुने यस रसायनिक प्रजाती (आइसोटोप)लाई अर्को प्रकारको आइसोटोपसँग जुधाइदियो ऊर्जा उत्पन्न हुन्छ । हिलियम थ्रीलाई ड्युटेरियम नामको हाइड्रोजनको आइसोलेटसँग भिडाइदिएपछि ठूलो परिमाणमा स्वच्छ ऊर्जा उत्पादन गर्न सकिन्छ ।

तर यो रेडियोधर्मि नभएका कारण यसबाट युरेनियममा जस्तो खतरनाक वा हानिकारक फोहोर उत्पन्न हुँदैन । यो पृथ्वीको सतहमा अत्यन्त दुर्लभ छ । तर नासाले चन्द्रमामा कम्तिमा पनि १० लाख टन हिलियम ३ रहेको अनुमान गरेको छ ।

यसको अद्भुत पाटो के हो भने, १० लाख टन हिलियम थ्रीलाई चन्द्रमाबाट पृथ्वीमा ल्याएर ऊर्जामा रुपान्तरित गर्न सकियो भने आगामी १० हजार वर्षसम्म संसारको पुरै ऊर्जा आवस्यकता पुरा हुन्छ ।

अन्तरीक्ष खोज

रकेट वा कुनै पनि वस्तु पृथ्वीको गुरुत्वाकर्षण शक्तिलाई छिचोलेर अन्तरिक्षमा जान ११ किलोमिटर प्रतिसेकेन्ड अर्थात् ४० हजार किलोमिटर प्रतिघण्टाको रफ्तारमा चल्नु आवस्यक हुन्छ । यस प्रक्रियामा अत्यधिक इन्धन खपत हुन्छ र अन्तरिक्ष मिशनको लागत बढीरहेको छ ।

हामीलाई थाहा छ, चन्द्रमाको तुलनामा पृथ्वीको गुरुत्वाकर्षण शक्ति ६ गुणा बढी छ । यसै कारण चन्द्रमाबाट योभन्दा ज्यादै सजिलो र सस्तो लागतमा अन्तरिक्ष यान प्रक्षेपण गर्न सकिन्छ । अहिले पृथ्वीबाट एउटा अन्तरिक्ष मिशन प्रक्षेपण गर्दा ९८ प्रतिशत इन्धन रकेटका निम्ति खपत हुन्छ । बाँकी २ प्रतिशत इन्धनले मात्रै अन्तरिक्ष यानलाई ऊर्जा दिन्छ ।

तर यदी चन्द्रमामा एक अन्तरिक्ष स्टेशन बनाउन सकियो भने यसले अन्तरिक्ष यात्राको लागत र प्रभावकारीता कयौं गुणा बढ्ने वैज्ञानिकहरू बताउँछन् । त्यसपछि पृथ्वीबाट न्यून इन्धनमा चन्द्रमासम्म यान पठाउने र त्यहाँ इन्धन पुनःभरण गरेर टाढासम्मको अन्तरिक्ष यात्रा विस्तार गर्ने योजना वैज्ञानिकहरूले बनाइरहेका छन् ।

यसरी चन्द्रमाबाट हिलियम थ्रीलाई पृथ्वीमा ओसार्ने र त्यसले दिगो स्वच्छ ऊर्जा उत्पादन गर्ने एकातिरको काम हुन्छ । चन्द्रमाको स्पेस स्टेशनबाट सजिलै विस्तारित ब्रह्माण्डको खोजमा नयाँ फड्को मार्न पनि सकिन्छ । यस कदमलाई ब्रह्माण्डका टाढाटाढाका ग्रह, उपग्रहसम्म पुग्न रेल स्टेशनजस्तै नयाँनयाँ स्टेशन बनाउँदै अघि बढ्ने आधारका रुपमा पनि हेरिएको छ ।

दुर्लभ धातु

हामीले चलायने कम्प्युटर, स्मार्टफोन र अनेकौं उन्नत प्रविधिमा ‘दुर्लभ पृथ्वी धातु’ (रेयर अर्थ मेटल्स)को उपयोग हुन्छ । अमेरिकी एयरक्राफ्ट निर्माता बोइङको शोधका अनुसार स्क्याण्डियम, येट्रियम, ल्यान्थेनाइट्सजस्ता अनेक यस्ता दुर्लभ धातुहरू चन्द्रमामा ठूलो परिमाणमा उपलब्ध छन् ।

यस्ता धातु र रसायनको खोज कसरी हुनसक्छ भन्ने स्पष्ट ढाँचाहरू त अझै पनि बनिसकेका छैनन् । यद्यपि, त्यहाँ प्राप्त यस्ता खनिजहरूमाथि कब्जा जमाउन पनि अहिले शक्ति राष्ट्रहरू चन्द्र मिशनको होडमा छन् ।

कानूनमा के छ ?

चन्द्रमाको भूमि कब्जा गर्ने वा यसका स्रोत साधनमाथि नियन्त्रण गर्ने विषयमा विद्यमान अन्तरराष्ट्रिय कानुनहरू अस्पष्ट र कमजोर छन् । संयुक्त राष्ट्र संघ अन्तरगत सन् १९६६ को बाह्य अन्तरिक्ष सन्धी (आउटर स्पेस ट्रीटी)मा ‘कुनै पनि राष्ट्रले चन्द्रमा वा अन्य खगोलीय पिण्डमाथि सम्प्रभूता दाबी गर्न नपाइने’ भनिएको छ । उक्त सन्धीले अन्तररिक्षको खोज सबै देशको लाभका निम्ति हुनुपर्ने भनेको छ ।

तर कयौं वकिलहरू उक्त सन्धीले ‘कुनै पनि निजी संस्थाले चन्द्रमाको निश्चित भूभाग वा हिस्सामाथि आफ्नो स्वामित्व वा सम्प्रभूता दाबी गर्न पाउँछ की पाउँदैन भनेर कानूनमा स्पष्ट नभएको’ तर्क गर्दै आएका छन् । अहिले नासाले निजी कम्पनीहरूलाई चन्द्रमाको अनुसन्धान र त्यहाँको उत्खननमा अघि सार्नुका पछाडी कानूनको यही छिद्रलाई ‘समात्ने’ कोसिस हुनसक्ने कतिपयको अनुमान छ ।

सन् १९७९ मा भएको चन्द्र सम्झौताले चन्द्रमाको कुनै पनि हिस्सा ‘कुनै पनि राज्य, अन्तरराष्ट्रिय अन्तर सरकारी वा गैर–सरकारी संगठन, राष्ट्रिय संगठन, गैर–सरकारी संस्था वा कुनै प्राकृतिक व्यक्तिको सम्पत्ति बन्ने छैन’ भनेको छ । तर यो सम्झौता मा अमेरिका, रूस र चीनजस्ता तीन महाशक्तिले हस्ताक्षर नै गरेका छैनन् । अन्तरिक्ष होडमा रहेको एकमात्र महाशक्ति भारतले यसमा हस्ताक्षर त गरेको छ, तर सम्झौतालाई अनुमोदन गरेको छैन ।

अमेरिकाले सन् २०२० मा आर्टेमिस सम्झौताको घोषणा गरेको थियो । उसले यस सम्झौतामार्फत् चन्द्रमामा एक सुरक्षा क्षेत्र (सेफ्टी जोन) स्थापना गरी अन्तरिक्ष सम्बन्धि मौजुदा अन्तरराष्ट्रिय कानूनलाई अघि बढाउने कोसिस गरेको थियो । तर रूस र चीनले उक्त सम्झौतामा सहभागि हुन अस्वीकार गरेका छन् ।

–एजेन्सीहरूको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्