नुवाकोटमा बिजुली गाडीको चर्चा, ठूला बसको अवस्था के होला?



नुवाकोट,चैत २५। नुवाकोटमा बिजुली गाडीको चर्चा ह्वात्तै बढेको छ । पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएसंगै यसको चर्चा चुलिएको हो । त्यसो त विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी साधन पर्न थालेको हो।

नुवाकोट हुँदै अहिले ६३ वटा विद्युतीय गाडी काठमाडौं ओहोरदोहोर गरिरहेको छ । तीनवटा समिति मातहतमा सो संख्यामा गाडी चलिरहेको नमस्ते पासाङ ल्ह्यामु यातायात कार्यालयका कार्यलय प्रमुख हरिप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार नमस्ते पासाङ ल्हामु यातायात समिति र नेपाल माइक्रोबस व्यवसायी समितिको साझेदारीमा ३५ वटा विद्युतीय गाडी र टिमुरे यातायात प्रालिले २८ वटा गाडी सञ्चालन गरिरहेको छ ।

संचालित विद्युतीय गाडीमा सबैभन्दा ज्यादा त्रिशुली-छहरे हुँदै बालाजु चल्ने गरेका छन् । छोटो मार्ग हुँदै एक डेढ घण्टा मै काठमाडौं पुग्ने गरेको त्रिशुलीका सुमन तामाङले साझापथसंग बताए । ठूला सवारीसाधन, साघुरो सडकयात्राको विकल्प विद्युतीय गाडी आएकोमा तामाङले खुशी व्यक्त गरे ।

जिल्लाको पूर्वी क्षेत्रका सर्वसाधारण कुनै समयमा सवारीसाधन नपाउने समस्याले आजित थिए । विद्युतीय गाडीको आवतजावत बढेपछि जुनसुकै समयमा काठमाडौ आउजाउ गर्न सहज भएको सर्वसाधारण बताउँछन् । ठूला गाडीको अनियमित व्यवस्थापन र जथाभावी भाडा असुलीको गुनासो भने अब घट्न सक्ने यात्रुहरु बताउँछन् । तुलनात्मक रूपमा भाडादर भने विद्युतीय गाडीको व्यवहारिक देखिएको छैन । चार्जिङ स्टेसनमा ५ सय बुझाए बापत एकपटकको ओहोरदोहोरमा ८/१० हजारसम्म कमाउन सक्ने बताउने विद्युतीय गाडीका चालकहरु भाडादरको उचित व्यवस्थापन तर्फ भने अनभिज्ञता प्रकट गर्छन् ।

बिजुली गाडी वर्षाको समय परीक्षाको घडी

सुरुवाती समयमा विजुली गाडीको चर्चा र प्रयोग चुलिए पनि यसको परीक्षाको समय भने वर्षाको समय हुने व्यवसायीहरुले बताउदै आएका छन् ।

बस व्यवसायीले बिजुली गाडीको भविष्य वर्षातको समयमा थाहा हुने बताएका छन् । अत्यधिक भार भोल्टेजसहित गुड्ने गाडी भएको र उकालो ओरालो चिप्लो बाटोले यसको आयु निर्धारण हुने उनीहरूको अनुमान छ ।

के ठूला गाडी समस्यामा परेका हुन?

धेरैको संख्यामा बिजुली गाडी चल्दा भाडाका ठुला गाडीहरु समस्यामा परेको यस्का व्यवसायीहरुले बताएका छन् । सर्वसाधारण यात्रुले विद्धुतीय गाडीको अत्यधिक प्रयोग गर्दा ठुला बसले पाउने यात्रुमा कमी आउन थालेको एक चालकले बताए । तीस प्रतिशत ठूला गाडीले कम यात्रु पाउँदा क्यु मिस गरेर बस्नु परेको उनीहरुको गुनासो छ ।

ठूला बसका सहचालक उत्तम बस्नेतले बिजुली गाडीको क्रेज क्षणिक भएको समेत टिप्पणी गरे। होटल तथा ठूला बस व्यवसायी नारायण गुरुङले सवारीसाधनको वृद्धि र मानिसको संख्या घटेकाले जुनसुकै बसलाई पनि पर्याप्त यात्रु नभएको बताए । यद्यपि बिजुली गाडीको यात्रुको तुलनामा ठूला बसका यात्रु छुट्टाछुट्टै उदेश्यको हुने बताए । ग्रामीण बस्तीका लागि ओहोरदोहोर गर्ने यात्रुको लागि ठूला बस नै रोजाइमा पर्ने उनको तर्क छ ।

विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि

हाल बजारमा विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघसम्म) १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपैयाँ बराबरको आयात भएको थियो।

गत वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा दुई अर्ब ७० करोड ६१ लाख ४६ हजार रुपैयाँभन्दा बढीको आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

अन्य वस्तुको आयात घटिरहेका बेला विद्युतीय सवारी साधनको आयातमा भने उल्लेख्य वृद्धि भएको हो । सात महिनामा सबैभन्दा धेरै चीनसँगको व्यापारिक उत्तरी नाका रसुवाबाट विद्युतीय सवारी साधनको आयात भएका छन् ।

रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात (साउन–माघसम्म) महिनामा सो नाकाबाट मात्र दुई हजार ४९३ वटा विद्युतीय गाडी आयात भएका छन् । सात अर्ब ३६ करोड ८४ लाख ३६ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएका हुन् ।

कार्यालयका अनुसार चालु आवको सात महिनामा रसुवा नाकाबाट ३२ अर्ब ९६ करोड २८ लाख रुपैयाँको सामान आयात भएको छ । जसमा सबभन्दा बढी विद्युतीय गाडी आयात भएका छन् । कार्यालयका प्रमुख रामप्रसाद पाठकले विद्युतीय गाडीको प्रयोग प्रवर्धन गर्ने सरकारको नीतिको कारणले गर्दा पनि आयातमा वृद्धि भएको जानकारी दिए।

विद्युतीय सवारी वातावरणमैत्री हुनाका साथै उपभोक्ताको चाहना बढ्दै गएकाले पनि आयातमा वृद्धि भएको उनको भनाइ छ । सो नाकाबाट यातायातको पहुँचलाई सहज बनाउन नेपाली व्यवसायीले चीनबाट सबैभन्दा धेरै ‘बिवाइडी’ विद्युतीय गाडीको आयात गरेका छन् ।

अन्य सवारी साधनको तुलनामा विद्युतीय सवारीको लागत खर्चसमेत कम पर्ने हुँदा यसको प्रयोग बढ्दै गएको उपभोक्ताको धारणा छ ।

पछिल्लो समयमा बजारमा विद्युतीय कार, भ्यान, स्कुटरको प्रयोग धेरै हुने गरेको छ । पेट्रोल, डिजल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको मर्मत खर्च एकदमै कम हुनुका साथै टायर, ब्याट्री, सर्भिसिङ र सरसफाइ खर्च मात्रै लाग्ने भएकाले विद्युतीय सवारी साधनको ‘मेन्टेनेन्स खर्च’ अन्य सवारी साधनको तुलनामा कम लाग्ने गरेको व्यवसायी बताउँछन् ।

विद्युतीय सवारी साधनले पेट्रोल, डिजेल सवारी साधनले जस्तो वातावरण र मानव स्वास्थ्यलाई असर पुर्‍याउने कार्बोनमोनोक्साइड ग्यास पनि उत्सर्जन नगर्ने हुनाले विद्युतीय सवारी साधन वातावरणमैत्री रहेको छ ।

पेट्रोल, डिजेल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको सञ्चालन खर्च तीन गुणा कम हुने गरेको व्यवसायीको भनाइ छ । तर पर्याप्त चार्जिङ स्टेसन नहुँदा यसको प्रयोगमा चुनौती देखिएको छ ।

नुवाकोटको विदुरमा विद्युतीय गाडीको चार्जिङ स्टेशन बन्ने

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नुवाकोटको विदुरसहित प्रदेश भित्रका १६ स्थानमा विद्युतीय गाडीको चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै चार्जिङ स्टेशन निर्माण योग्यता पुगेका ईच्छुक कम्पनीहरुसँग प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयको आ व २०८०÷८१ को वार्षिक कार्यक्रम तथा वजेट अर्न्तगत रही विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा रिफ्रेसिङ्ग सेन्टर सहितको चार्जिङ स्टेशन निर्माण तथा संचालन प्रक्रिया अघि बढेको हो ।

यसको लागि मन्त्रालयबाट स्वीकृत सार्वजनिक निजी लागत सहभागितामा विद्युतीय सवारी साधनको चार्जिङ्ग स्टेशन निर्माण तथा संचालन सम्वन्धी कार्यविधि २०८० अनुसार योग्यता पुगेका ईच्छुक कम्पनीले सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिन भित्र प्रस्ताव पेश गर्नु पर्ने छ ।

यी हुन् चार्जिङ स्टेशन निर्माणको लागि तय भएका १६ स्थान ।

नुवाकोटको विदुर क्षेत्र
धादिङको धादिङवेशी क्षेत्र
धादिङ भित्रै पर्ने पृथ्वीराजमार्ग क्षेत्र
काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्र
काभ्रेपलाञ्चोकको बनेपा क्षेत्र
काभ्रेपलाञ्चोकको नामोबुद्द क्षेत्र
काभ्रेपलाञ्चोकको दोलालघाट क्षेत्र
भक्तपुरको नगरकोट क्षेत्र
दोलखाको चरिकोट क्षेत्र
रामेछापको मन्थली क्षेत्र
सिन्धुलीको कमलामाई क्षेत्र
काठमाडौँको कोटेश्वर क्षेत्र
मकवानपुरको हेटौडा÷नवलपुर क्षेत्र
चितवनको सौराहा÷टाडी क्षेत्र
काठमाडौँको बालाजु÷नागार्जुन क्षेत्र
सिन्धुपाल्चोकको राष्ट्रिय राजमार्ग क्षेत्र

प्रतिक्रिया दिनुहोस्