सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको हेवा खोला ए को निर्माण ५० प्रतिशत पूरा



काठमाडौं,चैत १९ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करीब ५० प्रतिशत पूरा भएको छ । आयोजनाको निर्माण गत असारबाट मात्रै शुरु भएको थियो भने आगामी माघभित्र सम्पन्न हुने अनुमान गरिएको छ ।

ह्याविटाट पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको आयोजना पाँचथरस्थित हेवा खोलामा निर्माणाधीन छ । आयोजनाको निर्माण शुरु भएको ९ महीना नपुग्दै करीब ५० प्रतिशत निर्माण पूरा भएको आयोजना निर्देशक मधुसूदन पौड्यालले जानकारी दिए ।

आयोजनाका अधिकारीका अनुसार लक्ष्यभन्दा धेरै काम भएको र कुनै प्राकृतिक विपत्ति वा अन्य काबु बाहिरको परिस्थिति सृजना नभए २०८१ माघभित्र निर्माण सम्पन्न हुनेछ ।

आयोजना निर्देशक पौड्यालका अनुसार आयोजनाको बाँध, विद्युत गृह लगायतका मुख्य संरचनाहरूको निर्माण प्रगति निर्धारित लक्ष्यभन्दा बढी भएको छ ।

आयोजनामा प्रयोग हुने पेनस्टक पाइप नेपाल आइसकेको र हाल निर्माणस्थलसम्म ढुवानी भइरहेको छ । विद्युतगृहमा जडान हुने उपकरणको खरीद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको निर्देशक पौड्यालको भनाई छ ।

प्रतिमेगावाट १८ करोड ५० लाख लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र लुम्बिनी विकास बैंकको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्