मन्त्री सुमना श्रेष्ठ भन्छिन शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछु



काठमाडौं,चैत २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी छन्।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा राजनीति हस्तक्षेपमुक्त नभएसम्म शिक्षा क्षेत्रको सुधार नहुने भन्दै विद्यालय र उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताइन्।

मन्त्री श्रेष्ठले विद्यालयमा शिक्षक वा कर्मचारी राजनीतिक दलको आबद्धता हुन नहुने कानुन कार्यान्वयनका लागि पहल सुरु भइसकेको जानकारी दिइन्। सामुदायिक शिक्षामा लगानीको कमीका कारण नभई अति राजनीतिकरणका कारण सन्तोषजनक नतिजा आउन नसकेको उनको भनाइ छ।

उनले समयमै पाठ्यपुस्तक पुर्‍याउने जिम्मा स्थानीय तह र विद्यालयको भएको बताइन्। शिक्षा क्षेत्रको बजेटले शिक्षा क्षेत्रको सुधार र शिक्षकहरूको आवश्यकता पूरा गर्न नसकिने भएकाले आगामी बजेटमा शिक्षा क्षेत्रको बजेटको सिलिङ बढाउन पहल भइरहेको उनले बताइन्। मन्त्री श्रेष्ठले गुणस्तरमा ध्यान नदिए निशुल्क शिक्षामात्रै भनेर केही नहुने बताइन्।

शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भाबी कार्ययोजनाका बारेमा समितिले शिक्षा मन्त्रीसँग जानकारी लिएको हो।

प्रतिक्रिया दिनुहोस्