मार्चमा २८ दशमलव ९ प्रतिशतले बढे विदेशी पर्यटक



काठमाडौं,चैत २० । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महीनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको हो । 

गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका छन् । 

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ । 

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३, बेलायतबाट ७ हजार २४१, श्रीलङ्काबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् । 

दक्षिण एसियाबाट ४० हजार ७२७, एसिया (अन्यं)बाट २८ हजार ६४८, यू्रोपबाट २७ हजार ५८२, ओसनियाबाट ४ हजार ७८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महीनामा २ लाख २७ हजार ७५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो तीन महीनामा ३ लाख ४ हजार ६९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो । रासस

प्रतिक्रिया दिनुहोस्