कर्णालीमा मुख्यमन्त्रीको विश्वासको मतका लागि बोलाइएको स्थगित बैठक आज बस्दै



काठमाडौं,चैत २१ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्यसूची रहेको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । 

मंगलवार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । उक्त सूचनामा ‘विशेष कारणवश’ बैठक बस्न नसकिएको उल्लेख गरिएको छ । प्रदेशसभाको आगामी बैठक आज बुधवार बस्नेछ । 

नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले केन्द्रमा गरिएको प्रदेशको भागबण्डाविपरीत विश्वासको मत लिन लागेपछि उनलाई फकाउन नेकपा (एमाले) र माओवादी केन्द्रका नेताबीचको छलफल निष्कर्षमा नपुगेपछि बैठक स्थगित गरिएको बताइएको छ ।

केन्द्रमा गरिएको भागबण्डाअनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा छ । तर, मुख्यमन्त्री शर्माले आफू कुनै हालतमा पनि पद नछाड्ने अडान लिएका छन् । 

मुख्यमन्त्री शर्माको अडानपछि उनलाई मिलाउन एमाले र माओवादी केन्द्रका नेताबीच विभिन्न चरणमा छलफल चलेको थियो । 

प्रतिक्रिया दिनुहोस्