राँगाबाट वीर्य सङ्कलन



खजुरा,चैत २१ । भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु गरिएको छ । गत मङ्सिर महिनामा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन सुरु गरिएको हो ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटका पशु विकास अधिकृत डा. खिमानन्द खनालले भारत सरकारले नेपाललाई अनुदानमा दिएका उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन सुरु गरिएको जानकारी दिए ।

गत मङ्गसिर ६ गते नेपालगन्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाट ल्याइएका थिए । नेपाल ल्याइएका १५ मुर्रा राँगामध्ये नेपालगन्ज कार्यालयमा तीन वटा राँगा राखिएको डा. खनालले बताए । नेपालगन्ज कार्यालयमा राखिएका तीन राँगाबाट वीर्य उत्पादन गरी सङ्कलनको काम सुरु गरिएको उनले जानकारी दिए । 

पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटमा राखिएका तीन वटा मुर्रा राँगाबाट मङ्सिर महिनादेखि फागुन मसान्तसम्म १ सय ४३ डोज जमेको वीर्य उत्पादन गरिएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिए ।

प्राविधिक जैसीका अनुसार यस कार्यालयबाट मुर्रा राँगा, जर्सी साँढे र बाेयर जातको बोकाबाट वीर्य सङ्कलन गरिंदै आएको छ । राँगा, जर्सी तथा बाेयरबाट यस वर्षको फागुन मसान्तसम्म ६४ हजार ४० डोज वीर्य  उत्पादन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्