रकेटसरी बढिरहेको छ अर्बपतिको सम्पत्ति



धनीलाई धनमाथि धनै छ, धनै छ ।
गरिबलाई चमेली रिनमाथि रिनै छ ।।

२७ वर्षअघि बनेको चलचित्र ‘बलिदान’को यो गीतले भनेजस्तै धनीले धन थुपार्ने क्रम झन् पछि झन् बढ्दै गएको छ । संसारभर सीमित मान्छेले बढी सम्पत्ती कब्जा गर्ने परिपाटी मौलाएको छ । अहिले संसारमा ८ अर्ब १ करोड मानिसको आवादी रहेको छ ।

त्यसमध्ये केलब २८०० जनासँग संसारको कुल सम्पत्तीको ठूलो हिस्सा रहेको देखिन्छ । अमेरिकी पत्रिका फोर्ब्सले यो साल विश्वमा केवल २७८१ जना डलर अर्बपति रहेको विवरण सार्वजनिक गरेको छ । यो गत सालको तुलनामा १४१ जना बढी हो ।

यसरी थपिएकामध्ये ३१ जना भने हाम्रो छिमेकी भारतका अर्बपति रहेका छन् । भारतका मुकेश अम्बानी संसारको ९ औं र पुरै एसियाको सबैभन्दा धनि व्यक्ति बनेको छन् । यसअघि एसियाकै धनि बनेका गौतम अडानी भने १७ औं नम्बरमा पुगेको छन् ।

उनलाई एउटा अमेरिकी संस्थाले कृत्रिम रुपमा सम्पत्तीको मूल्य बढाएको आरोप लगाएपछि सेयर बजारमा अडानी समूहका कम्पनीहरुको भाऊ सस्तिएका थिए । त्यसपछि शिव नाडर, सावित्री जिन्दल, दिलीप संघवी, साइरस पूनावाला, कुशल पाल सिंह, कुमार बिर्ला, राधाकिशन दमानी, लक्ष्मी मित्तलजस्ता अर्बपति छन् ।

विश्वभरका अर्बपतिको सूचीमा भारतका २००, चीनका ४७३ र अमेरिकाका ८१३ जना रहेका छन् । यसमध्ये अमेरिकीहरुसँग ४० प्रतिशत, चिनियाँहरुसँग १२ प्रतिशत र भारतीयसँग ७ प्रतिशत सम्पत्ती रहेको छ ।

रकेटकै शैलीमा बृद्धि

कोभीडपछि बारम्बार संसारको सर्वाधिक धनि बनेका एलन मस्कको एउटा कम्पनी छ, स्पेस एक्स । अन्तरिक्ष यान उत्पादन गर्ने संसारकै सबैभन्दा ठूलो निजी कम्पनी यही हो । यो कम्पनीले चन्द्रमा, मंगलजस्ता ग्रह, उपग्रह एवम् अन्तरिक्षमा जान रकेट उत्पादन गरिरहेको छ । यो कम्पनीका मालिक मस्कको सम्पत्ती पनि उनले उत्पादन गर्ने रकेटजसरी नै आकासिएको छ ।

पछिल्लो १० वर्षमा एलन मस्कको सम्पत्ती २३ गुणाभन्दा धेरै भएको छ । अमेरिकी कार निर्माता टेस्ला र सामाजिक सञ्जाल एक्स (यस अघिको ट्वीटर)का समेत मालिक रहेका मस्कको सम्पत्ती सन् २०१४ मा जम्मा ८.४ अर्ब डलर थियो । तर दुई वर्षअघि उनको सम्पत्ती २२० अर्ब डलर पुग्यो । यो भनेको ८ वर्षमा २६ गुणाभन्दा धेरैको बृद्धि हो ।

पछिल्ला २ वर्षमा उनको सम्पत्ती केही संकुचित बनेको छ । तै पनि १० वर्षअघि संसारका ५०० अर्बपतिको सूचीमा १५८ औं नम्बरमा रहेका मस्क अहिले घरि पहिलो र घरि दोस्रो भइरहेका छन् । लेडिज ब्याग बनाउने फ्रान्सेली कम्पनी लुई भिटनका मालिक बर्नार्ड आर्नल्ट यो साल संसारकै धनि व्यक्ति बनेका छन् ।

बर्नार्डसँग १० वर्षअघि साढे ३३ अर्ब डलरको सम्पत्ती थियो । यो १० वर्षमा उनले अरु २०० अर्ब सम्पत्ती थपे र २३३ अर्ब पुर्याएका छन् । अमेजनका मालिक जेफ बेजोस अहिले तेस्रो धनी व्यक्ति हुन् । १० वर्षअघि १८ औं बरियतामा रहेका उनको सम्पत्ती यसबीच ५०६ प्रतिशत बढेको छ । फेसबूकका मालिक मार्क जुकरबर्ग पनि दशक अघि २१ औं स्थानमा थिए ।

अहिले जुकरबर्गको सम्पत्ती ५२१ प्रतिशत बढेर १ खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको छ । विगतमा लामो समयसम्म विश्वकै धनी बनेका बील गेट्स अहिले सातौं नम्बरमा छन् । उनको सम्पत्ती विगत १० वर्षमा जम्मा ६८ प्रतिशत बढ्यो । तर उनकै एक साझेदार स्टिभ बाल्मरको सम्पत्ती भने ५२७ प्रतिशत बढेको छ । उनीहरु माइक्रोसफ्टका साझेदार हुन् ।

भारतीय अर्बपति मुकेश अम्बानी पनि सर्वाधिक सम्पत्ती बढाउनेहरुमा पर्छन् । उनको सम्पत्ती पछिल्लो १० वर्षमा ५२४ प्रतिशत बढेको छ । १० वर्षअघि संसारका ४० औं धनि रहेका उनी अहिले ९ औं स्थानमा पुगेका छन् । १० वर्षअघि बील गेट्सपछि दोस्रो धनी रहेका मेक्सिकोका दूरसञ्चार व्यवसायी कार्लस स्लिम हेलु भने अहिले १४ औं स्थानमा झरेका छन् । यद्यपि, उनको सम्पत्ती भने ४२ प्रतिशत बढेकै छ ।

दशक अघिका तेस्रो धनि अमान्सियो ओर्टेगा अहिले १३ औं नम्बरमा छन् । जारा ब्राण्डका मालिक ओर्टेगाको सम्पत्ती पनि ६१ प्रतिशत बढेको छ । शेयर बजारका बादशाह भनिने वारेन बफेट संसारका छैटौं धनी हुन् । १० वर्षअघि उनको स्थान चौंथो थियो । त्यस बखत पाँचौँ स्थानमा रहेका ल्यारी इलिसन भने अहिले पनि सोही स्थानमा सुरक्षित छन् । प्रविधि कम्पनी ‘ओराकल’का मालिक इलिसनले यो एक दशकमा आफ्नो सम्पत्ती १९४ प्रतिशत बढाएका छन् ।

फोर्ब्सले सूचीकृत गरेका २७८१ जना अर्बपतिको स्वामित्वमा करीब १४२ खर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ । यो रकम विश्व अर्थतन्त्रको १३.५२ प्रतिशत बराबर हो । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार सन् २०२३ को विश्वब्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० नील ५० खर्ब (१०५ ट्रिलियन) अमेरिकी डलर रहने अनुमान छ ।

पछिल्लो १ वर्षमै अर्बपतिहरुको सम्पत्ती २० खर्ब अमेरिकी डलर बढेको आँकडा फोर्ब्सले प्रकाशित गरेको छ । शीर्ष २० जनाले मात्रै यो एक वर्षमा ७ खर्ब डलर बराबरको सम्पत्ती थपेका छन् । यी अर्बपतिहरुमध्ये केवल एक चौथाईको सम्पत्तीमात्रै गत सालको तुलनामा घटेको छ । बाँकीको सम्पत्ती पोहोरभन्दा धेरथोर बढेको छ ।

प्रतिक्रिया दिनुहोस्