भारतमा अर्बपतिको संख्या २०० पुग्यो, सर्वाधिक धनी अम्बानी



काठमाडौं,चैत २२ । फोर्ब्सले सन् २०२४ मा विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ, जसअनुसार सबैभन्दा धेरै अर्बपति भएको देशमा भारत तेस्रो स्थानमा छ ।

यस पटक फोर्ब्सको अर्बपतिको सूचीमा २०० जना भारतीयको नाम समावेश छ । गत वर्षको तुलनामा यो संख्या ३१ बढी हो । गत वर्ष यो सूचीमा १६९ जना मात्रै भारतीय थिए ।

यो वर्षका भारतीय अर्बपतिको कुल सम्पत्ति ९५४ अर्ब डलर छ, जुन गत वर्षका अर्बपतिको कुल सम्पत्तिभन्दा ४१ प्रतिशतले बढी हो। गत वर्षका अर्बपतिको कुल सम्पत्ति ६७५ अर्ब डलरभन्दा बढी थियो ।

भारतका सर्वाधिक धनी व्यक्तिको सूचीमा मुकेश अम्बानी शीर्ष स्थानमा छन् । सन् २०२४ मा उनको कुल सम्पत्ति ११६ बिलियन डलर छ । गत वर्ष उनको सम्पति ८३ बिलियन डलर थियो । अम्बानीले विश्वको नवौं धनी व्यक्तिको रूपमा आफ्नो स्थान कायम राखेका छन् । उनीअगाडि अमेरिकामा अर्बपति मात्रै छन् । 

सूचीअनुसार गौतम अडानी दोस्रो धनी भारतीय हुन् । उनको कुल सम्पत्ति ८४ अर्ब डलर छ । विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा भने उनी १७औं स्थानमा छन्।

सावित्री जिन्दल भारतको सबैभन्दा धनी महिला बनेकी छन् । भारतका धनी व्यक्तिको सूचीमा उनको नाम चौथो स्थानमा छ । एक वर्षअघि उनी छैटौं स्थानमा थिइन् । उनको कुल सम्पत्ति  ३३.५ बिलियन डलर छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्