नुवाकोटको दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन



नुवाकोट,चैत २२। जिल्लाको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षण स्वरुप जुस उत्पाद्न गरिएको हो ।

लालीगुराँसबाट उत्पादित जुस सेवन योग्य भए नभएको बारे प्रमाणीकरण गरिने दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्कर थापाले बताए ।

अध्यक्ष थापाले जङ्गलमा प्रशस्त पाइने लालीगुराँसको फूल उपयोगविहीन हुने गरेकाले आर्थिकोपार्जन गर्न सकिन्छ कि भनेर जुस उत्पादन गरिएको बताए । हाललाई ‘अध्यक्षसँग किसान सवलीकरण कार्यक्रम’मार्फत लालीगुराँसका फूलको सङ्कलन गरी जुस उत्पादन गरिएको अध्यक्ष थापाले बताए ।

पछिल्लो समय वर्षासंगैको हावाहुरीले झारेका फूल सङ्कलन गरेर बनाइएको जुसको गुणस्तर मापन हुन बाँकी रहे पनि न्यून लागतमा तयार गरिएको जुस गुणस्तरीय प्रमाणित भएको खण्डमा राम्रो आयआर्जन गर्न सकिने गाउँपालिकाका कृषि शाखाका सुदेश सुवेदीले बताए ।

आयुर्वेदिक चिकित्सकका अनुसार लालीगुराँसको फूलबाट उत्पादित जुस तथा अन्य उत्पादनको सेवनले घाँटीको दुखाइ कम गर्ने, रगतको मात्रा बढाउने, उच्च रक्तचाप रोक्ने, मिर्गौलासम्बन्धी रोगबाट बचाउने तथा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने बताइदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्