बजारमा माग बढाउन सरकारको सहयोग आवश्यक : अध्यक्ष ढकाल



काठमाडौं,चैत २३ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजारमा माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताएका छन्  । मोरङ उद्योग व्यापार संघको ६७औँ वार्षिक साधारणसभामा बोल्दै ढकालले  बजारको माग बढाउन सरकारले सहयोग गर्नु पर्ने बताएका हुन।

सरकारले लगानी सम्मेलनअघि संशोधन गर्ने भनेको कानुनलाई पनि संशोधन गर्नुपर्ने उनले औंल्याए । उनले समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ सचेत गराएका थिए । ढकालले महासंघको सुझावमा १२ वटा ऐन नियम संशोधनको प्रस्ताव गरिएको जानकारी दिए । संशोधनपछि केही जटिल विषय सम्बोधन हुने बताए ।

उनले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण सुविधा पुन: सञ्चालन गर्न सरकारलाई आग्रह गरे । सुविधा ठप्प हुँदा उद्यमशीलतामा असर परेको उनको तर्क थियो ।

उनले आन्तरिक माग कम हुँदा निर्यात गरेर र बढी पर्यटक भित्र्याएर माग बढाउनुपर्ने तर निकासीमा दिइने अनुदान रोकिएको बताए । यस हिसाबले अहिले निर्यातमा प्रोत्साहन नहुने उनले भन्दै उनले पूँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता पनि तिर्न सरकारलाई आग्रह गरे । सरकारले व्यवसायीहरुको मनोबल बढाउनु पर्ने मा अध्यक्ष ढकालले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्