भारतको आर्थिक सहयोगमा बनेको खोटाङको शारदा माविको विद्यालय र छात्रावास भवन उद्घाटन



काठमाडौं,चैत २४। भारतको आर्थिक सहयोगमा बनेको खोटाङको एक विद्यालयको भवन उद्घाटन गरिएको छ । 

खोटाङको रावा बेसी गाउँपालिकास्थित शारदा माविको दुई तले विद्यालय भवन एवं छात्रावास भवन उद्घाटन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावा वेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्तरूपमा भवन उद्घाटन गरे । 

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको ३ करोड ६१ लाख रुपैयाँको अनुदान सहयोगमा उक्त भवन बनेको हो । उक्त रकमबाट भवन निर्माणसँगै फर्निचर पनि खरिद गरिएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

उक्त परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

भवन उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीको पनि उपस्थिति थियो ।

सन् १९५२ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुने गरेको छ । विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमा ५० % छात्रा छन् । 

भारतले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको छ, जसमा ४८८ परियोजना सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन् । 

यस परियोजनाको कार्यान्वयनले नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्