तिर्थ पुनले जिते लुम्बिनी पिस म्याराथनको उपाधि, महिला तर्फको उपाधि सन्तोषी श्रेष्ठको पोल्टामा



भैरहवा,चैत २५। रुपन्देहीको लुम्बिनीमा शनिवार (आज) भएको लुम्बिनी पिस म्याराथनको पुरूष तर्फको उपाधि तिर्थ पुनले जितेका छन् ।  निर्धारित  ४२ किलोमीटर बढी दुरी २ घण्टा २० दशमलव ४९ सेकेन्डमा पुरा गरेका धावक पुनले उपाधि सहित ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

खड्ग बहादुर खड्का २ घण्टा २० दशमलव ५७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो बने । त्यस्तै दुर्गा बहादुर बुढा तेस्रो बने । उनले निर्धारित दुरी २ घण्टा २२ दशमलव २७ सेकेन्डमा पार गरे ।  दोस्रो बनेका खड्गले ३ लाख र तेस्रो बनेका दुर्गाले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

महिला तर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । धाविका श्रेष्ठले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी हुन् ।

यस्तै नेपाली सेनाकी पूर्णराज्यलक्ष्मी न्यौपाने १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् । उनलाई पछ्याउँदै एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान पक्का गरिन् । विजेता श्रेष्ठले २ लाख, न्यौपनेले १ लाख ६० हजार तथा भण्डारीले १ लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाल पर्यटन बोर्ड, नेपालका लागि चीनको दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् नेपालले  ‘लुम्बिनीमा शान्ति महोत्सव अन्तगर्त म्याराथन  आयोजना गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्