चैतको २५ दिनमा सुनको मूल्यमा ७ पटक नयाँ कीर्तिमान



काठमाडौं,चैत २६ । बिहेको लगन नहुने चैत महीनामा पनि सुनको भाउमा रेकर्डमाथि रेकर्ड कायम भएको छ । चैत शुरु भएयता सुनको मूल्यमा ७ पटक कीर्तिमान कायम भएको हो । 

चैतमा पहिलो पटक ८ गते सुनको मूल्यमा कीर्तिमान कायम भएको थियो । उक्त दिन सुनको भाउ तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

त्यसयता १५, १६, १९, २१, २२ र २५ गते सुनको भाउमा रेकर्ड कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत १५ गते सुनको भाउ तोलाको १ लाख २७ हजार ९०० रुपैयाँ रहँदा चैत १६ गते १ लाख ३० हजार पुगेको थियो । त्यसपछि १९ गते सुनको मूल्य तोलाको १ लाख ३१ हजार ६००, २१ गते १ लाख ३३ हजार, २२ गते १ लाख ३४ हजार पुगेको थियो । चैत २५ गते भने सुनको भाउ १ लाख ३५ हजार ६०० रुपैयाँ कायम छ ।

२५ दिनमा तोलामा ९ हजार ८०० वृद्धि

पछिल्लो २५ दिनमा सुनको भाउ तोलामा ९ हजार ८०० रुपैयाँ बढेको छ । यही चैत १ गते तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ तोकिएको सुनको भाउ २५ गते १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । 

अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि भाउ बढेको व्यवसायीहरू बताउँछन् । 

नेपालमा विशेषगरी बिहेको लगनको महीना र दशैंतिहारका बेला सुनको माग बढ्ने गरेको छ । अन्य बेला नेपाली बजारमा दैनिक २० किलो सुन खपत हुने गरेकोमा यो बेला ५० किलोसम्म खपत हुने गरेको व्यवसायी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्