काठमाडौंमा वेबसाइट विकास र स्यान्डविच बनाउने प्रतियोगिता



काठमाडौं,चैत २६ । विभिन्न शीप सिकिरहेका युवा प्रशिक्षार्थीबीच काठमाडौंमा अटोमोबाइल इन्जिनियरिङ, वेबसाइट विकास (एचटीएमएल कोडिङ) र स्यान्डविच बनाउने प्रतियोगिता गरिएको छ । 

कोशी, बागमती र लुम्बिनीका युवा प्रशिक्षार्थीबीच गरिएको प्रतियोगितामा अटोमोबाइल इन्जिनियरिङतर्फ कृष्णबहादुर कटुवाल, वेबसाइट विकास (एचटीएमएल कोडिङ)तर्फ तेज नारायण राजवंशी र स्यान्डविच बनाउनेतर्फ रबिना बुढाथोकी विजयी भएकी छन् । 

उक्त प्रतियोगितामा सहभागी प्रशिक्षार्थी हाल २४ महीनाको प्रशिक्षण कार्यक्रममा सहभागी छन् ।

कृष्ण मनमोहन पोलिटेक्निक इन्स्ट्च्यिुट (एमपीआई)मा सैद्वान्तिक शिक्षा लिएर हाल सार्थक अटो केयर वर्कशपमा कार्यस्थलमा आधारित शिक्षा लिइरहेका छन् । 

तेज आदर्श माध्यमिक विद्यालयमा भर्ना भएका छन् भने सीआईटी एजुकेशनमा कार्यस्थलमा आधारित शिक्षा लिइरहेका छन् । 

रबिना नर बहादुर कर्माचार्य स्मृति पोलिटेक्निकल स्कुलमा भर्ना भएर नेपालिरिका होटल प्रालिमा ‘प्लेसमेन्ट’ भएकी छन् । तीनओटै प्रतियोगिताका विजेता कोशी प्रदेशका हुन् । 

अटोमोबाइल्स इन्जिनियरिङ प्रतियोगिता नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालसँगको समन्वयमा गरिएको थियो, जसमा निर्णायकहरू एशोसियशनकै प्रतिनिधि रहेका थिए । यस्तै, स्यान्डविच प्रतियोगिता होटल एशोसियशन अफ नेपाल (हान)को समन्वयमा गरिएको थियो, जसमा हानका प्रतिनिधिसँगै शेफ सन्तोष निर्णायकको भूमिकामा थिए । वेबसाइट विकास प्रतियोगितामा भने आईटी विशेषज्ञले जजको भूमिका निर्वाह गरेका थिए ।

ग्लोबल प्रालिको आयोजनामा भएको उक्त प्रतियोगिता इन्हान्स स्किल्स फर सस्टिनेबल एण्ड रिवार्डिङ इम्प्लोएमेन्ट (ईएनएसएसयूआरई) प्रोजेक्टको सहकार्यमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्