पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशी पर्यटक १५० प्रतिशतले बढे



काठमाडौं,बैशाख ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बिहीवार सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०२२ को तुलनामा २०२३ मा पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशी पर्यटक १५० प्रतिशतले बढेका छन् ।   

सन् २०२२ मा ६१ हजार ७०१ जना विदेशी पर्यटक पदयात्रा र पर्वतारोहण गर्न उदेश्यले नेपाल आएका थिए भने सन् २०२३ मा उक्त संख्या १५० प्रतिशतले बढेर एक लाख ५४ हजार २६२ जना विदेशी पर्यटक पदयात्रा र पर्वतारोहण गर्न नेपाल आएका छन् । 

विगतको ६ वर्षमा नेपालमा पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशी पर्यटक ६ लाख ४५ हजार ५२० जना रहेका छन ।

सन् २०१८ मा १ लाख ८७ हजार ६९२ जना विदेशी पर्यटक पदयात्रा र पर्वतारोहण गर्न नेपाल आएका थिए । बीचमा कोरोना महामारीका कारण सख्यामा केही कमी देखिएको छ ।  भने २०२३ देखि सुधार आएको तथ्याकंले देखाएको छ ।

नेपालमा सबैभन्दा धेरै पर्यटक छुट्टी मनाउन आउने गरेका छन् । सन् २०२३ मा ६ लाख ३४ हजार ३०१ जना विदेशी पर्यटक छुट्टी मनाउन नेपाल आएका छन् । यो संख्या २०२२ को तुलनामा ५९ प्रतिशतले बढी हो । सन् २०२२ मा ३ लाख ९७ हजार ८२० जना विदेशी पर्यटक छुट्टी मनाउन नेपाल आएका थिए । 

त्यस्तै, तीर्थयात्रा गर्न आउनेको संख्या पनि उल्लेखनीय नै छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा तीर्थयात्रा गर्न आउने विदेशी पर्यटकको संख्या ६८ प्रतिशतले बढेको छ । सन् २०२२ मा ७९ हजार १४६ जन विदेशी पर्यटक तीर्थयात्रा गर्ने नेपाल आएका थिए भने सन् २०२३ मा उक्त संख्या बढेर १ लाख ३२ हजार ९४९ पुगेको छ ।

त्यस्तै अन्य प्रयोजनका लागि नेपाल आउनेको संख्या पनि २२ प्रतिशतले बढेको छ । सन् २०२२ मा ७६ हजार २०२  जना विदेशी पर्यटक अन्य प्रयोजनका लागी नेपाल आएका थिए भने सन् २०२३ मा ९३ हजार ३७० विदेशी अन्य प्रयोजनका लागि नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्