नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गर्छौ : मन्त्री तामाङ



काठमाडौं,बैशाख १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै उनले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताए । पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६-२०२५) अन्तिम चरणमा रहेको उल्लेख गरे । उनले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई समसामयिक सुधार गरी लगानीमैत्री बनाइने बताए ।

सरकारले पर्यटन दशक (२०२३–२०३२) मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पुर्‍याउने लक्ष्य लिइएको मन्त्री तामाङले जानकारी दिए । उनले पर्यटकको नेपाल बसाइ अवधि बढाउने र प्रति पर्यटक खर्चमा समेत बढोत्तरी गरी देशको कूल ग्राहस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताए । 

उनले भने, “हाल ४२ देशसँग हवाई सेवा सम्झौता भएको छ । ती देशहरूसँग प्रत्यक्ष हवाई सेवा सञ्चालनका लागि आवश्यक पहल गरिरहेका छौँ । नेपाल वायुसेवालाई सुधार गरी जहाजहरू थपी थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवाहरूलाई पनि आकर्षित गरिनेछ ।” 

प्रतिक्रिया दिनुहोस्