ठोरी–केरुङ नाका सञ्चालनको माग राख्दै चितवनका व्यवसायी नुवाकोट हुँदै रसुवामा



चितवन,बैशाख २६ । उद्योग वाणिज्य संघ, चितवनको टोली ठोरी–केरुङ नाका सञ्चालनको माग राख्दै नुवाकोट हुँदै रसुवामा पुगेको छ । उक्त टोलीले नुवाकोट र रसुवा उद्योग वाणिज्य संघका टिमसँग भेटघाट गरेर नाका सञ्चालनलाई प्राथमिकतामा राख्न अनुरोध गरेको हो ।

उद्योगी व्यवसायीको हकहित, संरक्षण र सम्बद्र्धन गर्दै उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्नुका साथै ठोरी केरुङ नाका सहजरूपमा सञ्चालन गर्न पहल गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको संघले जनाएको छ । 

दुवै उद्योग वाणिज्य संघसँग भएको भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले बागमती प्रदेशको सिमानासँग जोडिएका छिमेकी मुलक भारत र चीनको ठोरी–केरुङ नाका सहजरूपमा सञ्चालनमा ल्याउन सके व्यावसायिक गतिविधि अगाडि बढाउन सहज हुने बताउँदै उनले दुवै नाका सहज सञ्चालनमा आए बागमती प्रदेश एवम् समग्र देशको आर्थिक विकासले फड्को मार्ने बताएका छन् ।

केही समयअगाडि मात्रै भरतपुर महानगरपालिका र माडी नगरपालिकाको समन्वयमा ठोरी नाका सञ्चालनमा आएको जानकारी दिंँदै उनले यस किसिमका भेटघाटले दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी सम्बन्धित निकायसँग पहल गर्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा भरतपुर आउन दुवै संघलाई आग्रह गरेका छन् । 

भेटघाट एवम् छलफल कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले ठोरी–केरुङ नाका सहज सञ्चालन एवम् बाटोको स्तरोन्नतिको लागि उद्योग वाणिज्य संघ, चितवनसँग मिलेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताएका छन् ।

भेटघाट एवम् छलफल कार्यक्रममा रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुकसाङ तामाङले रसुवाको बारेमा जानकारी गराउँदै उनले व्यावसायिक समस्याका विषय एवम् ठोरी–केरुङ नाका सहज सञ्चालन तथा बाटो विस्तार गर्नका लागि उद्योग वाणिज्य संघसँग सहकार्य गरेर पहल गर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका पूर्वअध्यक्ष कल्याण जोशी, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य ताराबहादुर कार्की, नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सरण सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

छलफलमा ठोरी–केरुङ नाका सञ्चालन तथा सडकको स्तरोन्नति गर्ने साथै उद्योगी व्यवसायीका समस्या आर्थिक नीति, राजस्व नीति, झन्झटिलो कर प्रणालीलगायत लगानीका सम्भावित क्षेत्रका विषयमा तीनवटै उद्योग वाणिज्य संघबीच साझा धारणा बनाएर समस्या समधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विषयमा प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको संयोजन संघका राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन अवलोकन भ्रमण समितिका संयोजक दाताराम घिमिरेले गरेका हुन् ।

उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष श्रेष्ठको नेतृत्वमा पूर्वअध्यक्ष कल्याण जोशी, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठलगायत पदाधिकारी कार्यसमिति सदस्य, कर्मचारीसहित २९ जनाको भ्रमणमा सहभागिता थियो । भ्रमण टोली चीनसँगको सीमा नाका हुंँदै रसुवागढीसम्म पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्