दिल्लीका मुख्यमन्त्री केजरीवाललाई चुनावसम्मका लागि अन्तरिम जमानत



नयाँ दिल्ली (भारत),बैशाख २९ । मदिरासम्बन्धी नीतिसँग जोडिएको भ्रष्टाचारमा मुछिएपछि हिरासतमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको सर्वाेच्च अदालतले अन्तरिम जमानत दिएको छ । 

गत मार्च २१ देखि तिहाड जेलको हिरासतमा रहेका केजरीवाललाई जुन १ सम्मका लागि जमानत दिइएको हो । यो चुनावसम्मको अवधि हो । भारतमा अप्रिल १९ देखि विभिन्न चरणमा भइरहेको लोकसभा चुनावअन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान जुन १ मा हुनेछ । चुनाव सकिएको भोलिपल्ट जुन २ मा उनले आत्मसमर्पण गर्नुपर्नेछ । अदालतले जमानत अवधिमा केजरीवाललाई चुनाव प्रचारप्रसारमा भने रोक लगाएको छैन । 

अदालतले केजरीवालको जमानतका लागि विभिन्न शर्त तोकेको छ । अदालतका अनुसार जमानत अवधिमा केजरीवाल मुख्यमन्त्रीको कार्यालय र दिल्लीको सचिवालयमा जान पाउने छैनन् । यस्तै उनी आफ्नो मुद्दाबारे टीकाटिप्पणी तथा मुद्दाका कुनै पनि साक्षीसँग अन्तर्क्रिया गर्न पनि नपाउने भएका छन् । यसैगरी अदालतले केजरीवाललाई उनको मुद्दासँग सम्बन्धित आधिकारिक फाइलमा पनि उनी पहुँच नपाउनेलगायत शर्त तोकेका छन् । 

यो जमानत उनी विरुद्धको मुद्दाको योग्यतामा रायको अभिव्यक्तिको रूपमा नमानिने अदालतले भनेको छ । 

अदालतको उक्त फैसलाको केजरीवालको दल आम आदमी पार्टीका नेताले स्वागत गरेका छन् । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्