थाई एयरवेजको सेवा नेपालमा पुन: शुरू



काठमाडौं,जेठ ११ । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा फेरि शुरू गरेको औपचारिक जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा शुरू गरेको थियो ।

एयरवेजले कोभिड महामारीका कारण मार्च २०२२ मा उडान रोकेको थियो । एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेको थियो । एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । 

एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले सेवा पुन: सुचारुले नेपाललाई थाइल्याण्ड लगायत विश्वका ३० अन्तरराष्ट्रिय गन्तव्यसँग जोड्ने बताए । सोसाइटी इन्टरनेशनलका अध्यक्ष रविचन्द्र सिंहले सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको बताए । नेपाल र थाइल्याण्डबीच उडान गर्ने यात्रुलाई सहज र रमाइलो यात्रा अनुभव प्रदान गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्