फुञ्जो लामाले बनाइन् सगरमाथा आरोहणको नयाँ कीर्तिमान



काठमाडौं,जेठ ११ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकी छन् । 

बिहीबार बिहान सगरमाथाको चुचुरोमा पुगेकी गोरखाकी फुञ्जोले सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाएकी हुन् । 

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधवार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण शुरू गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको जनाइएको छ ।
 
यसअघि यो कीर्तिमान हङकङकी स्याङ यिन हङको नाममा थियो । उनले सन् २०२१ मा २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर उक्त रेकर्ड बनाएकी थिइन् ।

पुरुषतर्फ यो कीर्तिमान भने दोलखाकै पेम्बादोर्जे शेर्पाको नाममा छ । उनले ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिज बुकमा रेकर्ड कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्