भारतमा सकियो चुनाव, तेस्रो कार्यकाल पनि मोदी नै प्रधानमन्त्री बन्ने संभावना



काठमाडौँ,जेठ २० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि सरकारको नेतृत्व गर्ने करीब पक्का भएको ‘एक्जिट पोल’हरुले दर्शाएका छन् । चुनावमा भोट हालेर निस्कने (एक्जिट गर्ने) मानिसहरुसँग छोटो अन्तरवार्ता गरेर यस्ता सर्वेक्षणहरु गर्ने गरिएको छ ।

यस्ता अधिकतर एक्जिट पोलहरुले भारतीय जनता पार्टीलाई स्पष्ट बहुमत मिल्ने संकेत गरेका छन् । उसको नेतृत्वको गठबन्धन ‘एनडीए’ले फेरि पनि सरकारको नेतृत्व गर्ने पक्काजस्तै भएको खबरहरु सम्प्रेषित भएका छन् । यद्यपि, त्यहाँको निर्वाचन आयोगले आगामी मंगलबारमात्रै मत परिणाम घोषणा गर्ने छ ।

भारतमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम)को प्रयोगबाट मतदान भएका कारण नेपालमा जस्तो मत गणनाका लागि धेरै दिन कुर्नु पर्ने हुँदैन । त्यहाँ तुरुन्तै सबै मत परिणाम एक साथ सार्वजनिक हुने छ । यसले मंगलबार साँझसम्मा कुन दल र गठबन्धनले कति मत पायो भन्ने स्पष्ट भइसक्छ ।

त्यहाँको लोकसभा (नेपालको प्रतिनिधी सभाजस्तै) चुनाव शनिबार साँझ सकिएको हो । गएको वैशाख ७ बाटा सुरु भएको मतदान ७ चरणमा गरेर डेढ महिनामा सकिएको हो । संसारकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुकले आउँदो ५ वर्षको लागि नेतृत्व चुन्ने छ ।

भारतीय लोक सभामा कुल ५४३ सीटका लागि मतदान भएको छ । यसमा सामान्य बहुमतको सरकार बनाउन कम्तिमा २७२ सीट जत्नु आवस्यक हुन्छ । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले सन् २०१९ को चुनावमा ३०३ सीटमा जीत हासिल गरेको थियो ।

यस पल्ट ४०० सीटभन्दा बढीमा जीत हासिल गर्ने सुरुआति दाबी अब फिक्का हुन थालेको छ । यद्यपि, सामान्य बहुमतका लागि आवस्यकभन्दा बढी संख्यामा सीट जित्ने पुर्वानुमानहरु भएका छन् । ज्यादै कम विश्लेषकहरुले भने यस पल्ट भाजपालाई ५० सीटसम्म घाटा लाग्ने बताएका छन् । त्यसो भयो भने उसको सीट संख्या २५३ मा झर्नुपर्ने हुन्छ ।

यद्यपि, सुरुआती सुझानमा भाजपाले पुनः सरकार बनाउने स्पष्ट संकेत मिलेका खबरहरु बाहिरिएका छन् । यो चुनावमा ९६ करोड ८८ लाखभन्दा बढी भारतीयले मतदान गर्ने अधिकार पाएका थिए । यो संख्या सिंगो अमेरिका, रूस, जापान, ब्रिटेन, ब्राजिल, फ्रान्स र बेल्जियमको कुल जनसंख्याको बराबर हो ।

बेलायती उपनिवेशबाट ७७ वर्षअघि स्वतन्त्र भएयता भारतमा जवाहरलल नेहरूमात्र त्यस्ता पात्र थिए, जो लगातार चार पटक प्रधानमन्त्री बनेका थिए । उनी निर्वाचनबाटै लगातार तीन पल्ट प्रधानमन्त्री बन्नेमा नेहरू पछि वर्तमान प्रधानमन्त्री मोदी दोस्रो व्यक्ति हुने संभावना छ ।

यद्यपि, मोदीले यो कार्यकाल पूरा गरे भने पनि कार्यावधिका हिसाबले उनी तेस्रो बढी समय सत्ता हाँक्ने राजनेता बन्ने छन् । यसअघि भारतमा नेहरूले १६ वर्ष ९ महिना र उनकी छोरी इन्दिरा गान्धीले १६ वर्ष शासन हाँकेका थिए ।

मोदीले आफ्नो तेस्रो कार्यकाल पुरा हुँदासम्म भारतलाई विश्वको तेस्रो ठूलो आर्थिक शक्ति बनाउने भनेका छन् । तर अन्तरराष्ट्रिय विश्लेषकहरुले सन् २०२७ मै अर्थात् अबको साढे ३ वर्षभित्रै भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आँकलन गरेका छन् ।

एक शताब्दीसम्म भारतलाई उपनिवेश बनाएको ब्रिटेनलाई हालैमात्र जितेर भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको छ । प्रधानमन्त्री मोदीले १० वर्षअघि भारतको सत्ता सम्हाल्दा विश्वमा भारतको आर्थिक हैसियत पनि १० औँ नम्बरमै थियो ।

अबको ३ वर्षमा उसले जर्मनी र जापानलाई पनि उछिन्ने पूर्वानुमान गरिएको छ । यसरी अमेरिका र चीनपछि तेस्रो ठूलो आर्थिक शक्तिको रुपमा उदाउने पूर्वानुमान भइरहेको छ ।

उत्तरी छिमेकी चीनमा ११ वर्षयता सी चिनफिङ राष्ट्रपति छन् । अब दक्षिणमा पनि यस्तै राजनीतिक स्थायित्व देखिएको छ । तर यसले नेपालमा वर्षैपिच्छे सरकार बदलिने र प्रधानमन्त्रीलाई हरेक दिन सत्ता जोगाउन तिकडम गर्नुपर्ने बाध्यताबाट पार पाउन भने कुनै सहयोग गर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्