भारतको विधानसभा चुनाव : अरुणाञ्चलमा बहुमत पाएको भाजपा सिक्किममा शून्य



काठमाडौं,जेठ २१ । भारतमा चारओटा राज्यमा भएको विधानसभा चुनावमध्ये दुईओटाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणामअनुसार अरुणाञ्चलमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ भने सिक्किममा यो पार्टी शून्य भएको छ । 

अरुणाञ्चलका ६० सिटमा भाजपाले ४६ सिटमा जित हासिल गरेको छ । उक्त संख्या कुल सदस्य संख्याको बहुमत हो ।  त्यहाँ बहुमतका लागि ३१ सिट आवश्यक पर्छ ।

अरुणाञ्चलमा नेशनल पिपुल्स पार्टी (एनपीपी)ले ५, भारतीय राष्ट्रिय कंग्रेसले १ र अन्यले ८ सिट जितेका छन् । 

भाजपाले अरुणाञ्चलमा बहुमत हासिल गरे पनि सिक्किममा भने शाख जोगाउन सकेन । भाजपाले त्यहाँ एक सिट पनि जित सकेन । त्यहाँको चुनावमा क्षेत्रीय दलकै बोलबाला रह्यो । त्यहाँको ३२ सिटमध्ये सिक्किम क्रान्तिकारी मोर्चाले ३१ र सिक्किम डेमोक्रेटिक फ्रन्टले १ सिटमा जित हासिल गरेका छन् । त्यहाँ बहुमतका लागि १७ सिट आवश्यक पर्छ ।

बाँकी दुई राज्य (आन्द्र प्रदेश र ओडिशा)को चुनावी मतपरिणाम भने आगामी मंगलवार आउने बताइएको छ । 

यी चारओटै प्रदेशमा लोकसभासँगै विधानसभाको चुनाव भएको थियो । लोकसभा चुनावको मतपरिणाम पनि आगामी मंगलवार आउने बताइएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्