अरुण ३ परियोजनाको शुरूङ छिचोलियो



काठमाडौं,जेठ २३ । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको शुरूङ खनेर सकिएको छ । शुरूङ जलविद्युत् आयोजनाको एउटा महत्त्वपूर्ण अंश हो । 

शुरूङ छेडिएसँगै परियोजनाको ७४ दशमलव शून्य ९ प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले जानकारी दिएको छ । प्रसारण लाइनमा स्थानीयको अवरोध खेपिरहेको कम्पनीले यसतर्फ भने ३७ दशमलव ९५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिएको छ । 

भारतको राज्य नियन्त्रित एसजेभीएन लिमिटेड कम्पनीको लगानीमा यो परियोजाको विकास हुँदै छ । यो निर्यातमुखी परियोजना हो । संखुवासभा जिल्लाको मकालु गाउँपालिका, वडा नम्बर ३ र ७ मा रहेको बाँधबाट ११ दशमलव ८ किलोमीटर लामो शुरूङमा ल्याएको पानी चिचिला गाउँपालिका, वडा नम्बर ३, पुकुवामा रहेको विद्युत्गृहमा झारेर बिजुली उत्पादन गरिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार बाँधको काम पनि अगाडि बढिरहेको छ । सन् २०२५ को मार्चमा बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

यो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको सम्झौता कार्यान्वयन गर्न महत्त्वपूर्ण हुनेछ । कम्पनीले परियोजनास्थलबाट ढल्केवर सबस्टेशनसम्म बिजुली ल्याउन प्रसारण लाइन बनाउनुका साथै भारतमा निर्यात गर्न नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन पनि बनाउँदै छ । उक्त प्रसारण लाइनबाट अन्य आयोजनाको बिजुली पनि भारत निर्यात गर्ने नेपालको योजना छ । 

शुरूङ छिचोलिएको उपलक्ष्यमा संखुवासभामा आयोजित कार्यक्रममा मंगलवार सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले यो आयोजनाको निर्माण सम्पन्न भएपछि देशको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।

  •  आगामी मार्चमा विद्युत् उत्पादन गर्ने लक्ष्य
  •  नेपाललाई करीब २०० मेगावाट नि:शुल्क
  •  बाँकी बिजुली सबै भारत निकासी हुने

‘यस परियोजनाका लागि आवश्यक जग्गा प्राप्तिलगायतमा सहयोग र सहजीकरण गर्दै निर्धारित समयमै बाँकी काम सम्पन्न गर्न म सम्बद्ध पक्षलाई निर्देशन दिन्छुु,’ उनले भने ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि भएको सम्झौता कार्यान्वयनका लागि यो आयोजना महत्त्वपूर्ण भएको बताए । अरुण नदीमा विद्युत् उत्पादनका लागि कैयौं सम्भावना भएको उल्लेख गर्दै उनले उक्त सम्भावनालाई दुवै देश मिलेर उपयोग गर्नुपर्नेमा जोड दिए । 

अरुण–३ लगायत एसजेभीएन लिमिटेडले ६७९ मेगावाटको तल्लो अरुण पनि बनाउने अनुमति पाएको छ । एसजेभीएनले ४९० मेगावाटको अरुण–४ नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त उपक्रम बनाएर विकास गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

अरुण नदीमा अन्य परियोजना विकासका लागि नेपाल सरकारसँग सहकार्य गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवले बताए । एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका प्रमुख प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजना समयमै सम्पन्न गर्न कोशी राजमार्ग मर्मत तथा स्तरोन्नतिका साथै प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्तिमा सहयोग गरिदिन प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरे । भारतीय कम्पनीले निर्माण गरिरहेको यो आयोजनाबाट उत्पादित बिजुलीमध्ये नेपाल सरकारले २१ दशमलव ९ प्रतिशत (करीब २०० मेगावाट) नि:शुल्क पाउनेछ भने बाँकी भारत निर्यात हुनेछ । बिजुली उत्पादन शुरू भएको २५ वर्षपछि आयोजना नेपाललाई नै हस्तान्तरण गर्नुपर्नेछ । 

आयोजनाको शिलान्यास २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट संयुक्त रूपमा गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्