बजेटबारे समीक्षा हुन आवश्यक छ : अध्यक्ष ओली
काठमाडौं,असार १ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठिक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्ने धारणा राखे । उनले दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास र गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने धारणा राखे । देश बनाउने सङ्कल्प, अठोटसहित उद्यमशीलता बढाउन प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।