नेपालको पर्यटन प्रवर्द्धनका लागि चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने



काठमाडौं,असार ११। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष पुगेको अवसरमा चीनले अर्काे वर्ष (सन् २०२५ मा) ‘भिजिट नेपाल–२०२५’ मनाउने भएको छ । 

नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरवारमा सोमवार भएको शिष्टाचार भेटमा सो कुराको जानकारी दिएका हुन् । 

नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम मनाउने निर्णय गरिएको उपविदेशमन्त्री वेइतोङले बताए । साथै उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे। उनले नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए । 

उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा भाग लिन आज नेपाल आएका हुन् । भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो भने चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छेन सङलगायतका उच्च अधिकारी सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्