निर्यातको तेब्बर बढी कफी आयात
काठमाडौ,मंसिर ८ । मुलुकबाट १४ करोड रुपियाँ बराबरको कफी निर्यात हुँदा आयात भने झन्डै तेब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९२ लाख रुपियाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा बाहिरी मुलुकबाट ४१ करोड ९८ लाख रुपियाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात भएको छ ।
यस्तै आव २०७९/८० मा १३ करोड चार लाख बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपियाँ बराबरको ४५० मेट्रिक टन आयात भएको थियो । निर्यातको तुलनामा आयात उच्च रहेको छ । कफीको खपत बढ्दै गए पनि आन्तरिक उत्पादनले बजार माग धान्न नसक्दा कफीको उत्पादन बढ्न नसक्दा आयातित कफीले बजार धानिरहेको तथ्याङ्कले देखाएको छ । साथै कफी पारखीले विभिन्न स्वादका कफी प्रयोग गर्ने हुँदा पनि आयात बढ्दै गएको देखिन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकभर चार हजार ३०९ हेक्टर क्षेत्रफलमा कफी खेती भई वार्षिक ५०१.३ मेट्रिक टन ग्रिनविन कफी उत्पादन हुने गरेको छ । ६५४ हेक्टरमा नयाँ रोपण भएको छ । मुलुकमा उत्पादित कफीको १७ प्रतिशत विदेशमा निर्यात हुने गरेको र बाँकी आन्तरिक बजारमा खपत हुने गरेको बोर्डको तथ्याङ्क छ ।
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात गर्दा व्यवसायीले सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय कफी सङ्गठनको विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन/निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम दुई हजार दुई सय मेट्रिक टनभन्दा बढी कफी खपत भइरहेको र दिनप्रतिदिन माग पनि उच्च देखिएको छ ।
कफी क्षेत्रफलसँगै उत्पादनमा वृद्धि
बोर्डको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा कफी खेतीको क्षेत्रफल र उत्पादन दुवै बढ्दै गएको छ । बोर्डका अनुसार आव २०८०/८१ मा चार हजार ३०९ हेक्टर क्षेत्रफलमा ५०१.३ मेट्रिक टन, आव २०७९/८० मा तीन हजार ६५५ हेक्टर क्षेत्रफलमा ३९४.४ मेट्रिक टन, आव २०७८/७९ मा तीन हजार ३४३ हेक्टर क्षेत्रफलमा ३५४.९ मेट्रिक टन, आव २०७७/७८ मा तीन हजार ५२ हेक्टर क्षेत्रफलमा ३१४.५ मेट्रिक टन कफी उत्पादन भएको थियो ।
आव २०७६/७७ मा दुई हजार ३६० हेक्टर क्षेत्रफलमा उत्पादन भएको २९६.५ मेट्रिक टन कफी निर्यात भएको थियो । मुलुकमा ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेतीको सम्भावना रहेको बताइएको छ । समुद्र सतहबाट आठ सयदेखि १६ सय मिटर उचाइको मध्यपहाडी भूभागमा कफी खेती विस्तार हुँदै गएको छ ।
यसैबिच २० औँ कफी दिवसको अवसरमा शुक्रबार आयोजित अन्तरक्रियामा सरोकारवालाले कफीको उत्पादन बढाएर निर्यात बढाउन जोड दिएका थिए । सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वदेशमै कफी विकासका लागि प्रशस्त ठाउँ रहेकाले खेती विस्तार गर्दै जानुपर्ने बताए । मध्यपहाडी भेगमा बाँझो जमिन धेरै ठाउँमा रहेकाले खेती विस्तार गरेर आम्दानी गर्न सकिने भएकाले व्यक्तिगत र सामूहिक रूपमा खेती विस्तार गर्दै जानुपर्ने उनको भनाइ छ ।
कृषि सचिव गोविन्द शर्माले मुलुकमा कफीको सम्भावना राम्रो भए पनि जल उद्योगको कथा जस्तै भएको बताए । कफीको क्षेत्रफल बढे पनि उत्पादन पर्याप्त मात्रामा बढ्न नसकेकाले उत्पादन बढाउनेतर्फ लाग्न व्यवसायीलाई आग्रह गरे ।
बोर्डका उपनिर्देशक डा. लक्ष्मण पोखरेलले काठमाडौँ, पोखरालगायतका सहरमा कफी क्याफेहरूको विस्तार हुँदा आन्तरिक बजारमा कफीको माग बढ्दै गएको बताए । आन्तरिक बजारमा वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी कफीको माग रहेको र अन्तर्राष्ट्रिय बजारमा १४ हजार मेट्रिक टनभन्दा बढी माग रहेको उनको भनाइ छ । कफीको औसत उत्पादन प्रतिबोट प्रतिवर्ष तीनदेखि पाँच केजी फ्रेस चेरी उत्पादन हुने गरेको छ ।