नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढेर साढे ४ अर्ब माथि
काठमाडौं,असोज २७ । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा बन्द भएको छ। लगातार तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजारले मंगलबार पनि सकारात्मक गति कायम राखेको हो।
मंगलबार बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँमा खरिदबिक्री भएको छ।
यस दिन सगरमाथा जलविद्युत् कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १२.४४ प्रतिशतले बढेको छ। यता स्नो रिभर्सको शेयरमूल्य नकारात्मक सर्किट लाग्ने गरी घटेको छ। कम्पनीको शेयर प्रतिकित्ता १४९ रुपैयाँ ९० पैसाले घटेर ८४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको हो। धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि करिब १३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो पहिलो स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये पाँचवटाको परिसूचक बढेको छ भने आठवटामा गिरावट आएको छ। जीवन बीमा उपसमूह सबैभन्दा धेरै १.७७ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, लगानी तथा निर्जीवन बीमा उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।
समग्रमा मंगलबार शेयर बजारमा सामान्य सुधार देखिए पनि अधिकांश उपसमूहको परिसूचक घटेको छ। कारोबार रकम बढेसँगै कम्पनीहरूको शेयरमूल्यमा भने मिश्रित उतारचढाव देखिएको छ।

