हुलाक सेवालाई आधुनिक र प्रभावकारी बनाइनेछ : सञ्चारमन्त्री तिमिल्सिना



काठमाडौं, असोज २७ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउँदै समयअनुकूल विकास गरिने बताउनुभएको छ।

हुलाक सेवा विभागद्वारा मंगलबार आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री तिमिल्सिनाले हुलाक सेवाको ऐतिहासिक महत्व कायम राख्दै आधुनिक प्रविधिअनुसार सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले अन्तर्राष्ट्रियस्तरमा हुलाक सेवा खारेज नभई समयअनुसार परिवर्तन हुँदै आएको उल्लेख गर्दै नेपालमा पनि कर्मचारीको क्षमता अभिवृद्धि, साधनस्रोतको व्यवस्था र दुर्गम क्षेत्रका नागरिकसम्म सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

मन्त्री तिमिल्सिनाले विगतका गतिविधि, कमजोरी र समस्याको समीक्षा गरी आगामी दिनमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो। बजेट र साधनस्रोतको अभाव वा कार्यसम्पादनमा देखिएका जटिलता देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने उहाँको भनाइ थियो।

हुलाक सेवामा रहेका सवारीसाधनसम्बन्धी समस्या समाधान गर्न एक सय थान मोटरसाइकल खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उहाँले अतिरिक्त हुलाकका कर्मचारीको सेवासुविधा समयानुकूल बनाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभयो।

उहाँले सुशासनलाई प्राथमिकता दिएको वर्तमान सरकारले कार्यसम्पादनका क्रममा देखिएका समस्या समाधानका लागि स्पष्ट योजना ल्याए आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर छिटो र गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो। उहाँले हुलाक सेवामा नीतिगत सुधार, प्रचारप्रसार र अतिरिक्त हुलाकका कर्मचारीको सेवासुविधा वृद्धिको आवश्यकतासमेत औँल्याउनुभयो।

विभागकी महानिर्देशक मनमाया भट्टराईले विभिन्न चुनौतीका बीच विभागले आफ्नो जिम्मेवारी व्यवस्थित रूपमा अघि बढाइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा एक सय ५२औँ विश्व हुलाक दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने गोरखा, सल्यान, म्याग्दी र भक्तपुर हुलाक कार्यालयका प्रमुखहरूलाई सम्मान गरिएको थियो। हुलाक प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यलाई नगदसहित पुरस्कृत गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्