आरुघाटमा बेलिब्रिज राख्ने काम तीव्र



गोरखा,असोज २७ । गोरखा र धादिङ जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटको क्षतिग्रस्त पक्की पुल पुनः सञ्चालनमा ल्याउन सरकारले बेलिब्रिज जडानको काम तीव्र बनाएको छ।

आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुलका तीन खण्डमध्ये गोरखातर्फको २२ मिटर आरसीसी भाग बगाएको थियो। बाँकी ट्रस संरचना भने जोगिएको थियो।

बाँकी संरचनामै बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्न सकिने प्राविधिक मूल्याङ्कनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको समन्वयमा निर्माण कार्य अघि बढाइएको हो।

बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री हेटौँडाबाट घटनास्थलमा पुर्‍याएर काम सुरु गरिएको छ। सरकारले दसैँअघि नै पुल पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

पुल सञ्चालनमा आएपछि बाढीका कारण विच्छेद भएको गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः स्थापित हुनुका साथै सर्वसाधारणको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्