गढिमाई मेलाको बेला बाराका सीमानामा अवैध आयात वृद्धि भएको भन्दै प्रशासनको गस्ती
वीरगञ्ज,मंसिर १६ । बाराको बरियारमा शुरु भएको पञ्चवर्षीय गढिमाई मेलाको मौका छोपेर बाराका सीमानाहरूबाट अवैध आयात बढ्न थालेपछी वीरगञ्ज आईसीपी भन्सार र जिल्ला प्रशासन कार्यालय बाराले ती क्षेत्रमा गस्ती बढाएका छन् ।
भारतसँग सिमाना जोडिएका बाराका नाकाहरूबाट तस्करी बढेको सूचना आएपछि भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने र बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी स्वयम् रात्रिगस्तीमा निस्किन थालेका हुन् ।गढीमाईमा लागेको धार्मिक मेलामा भारतबाट लाखौं भक्तजन आउने भएकाले त्यही भिडको मौका छोपेर स्थानीय केही ‘विवादास्पद व्यापारीहरूले भारतबाट अवैध रुपमा मालसमान भित्र्याइरहेको सूचना आएपछि रात्रिगस्ती थालिएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए ।
‘सूचना आएका र शंकास्पद क्षेत्रमा एक हप्तादेखि रात्रि गस्ती गरेका छौँ । राति २/३ बजेसम्मै विभिन्न नाकाहरूमा भन्सार र प्रशासनको संयुक्त निगरानी भइरहेको छ,’ उनले आर्थिक अभियानसित भने । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लामा तस्करी नियन्त्रणलाई अभियानकै रुपमा अघि बढाउन लागिएको बताए ।
‘सरकारी गाडीमा जाँदा सबैले चिन्ने र सूचना चुहिने भएपछि निजी गाडीमार्फत गस्तीमा निस्किने गरिएको छ । यसलाई अभियानकै रुपमा लैजाने सिडिओ अधिकारीले बताए ।सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि जनपद र सशस्त्र प्रहरीसमेत खटिएका छन् । सिमानामा सुरक्षाकर्मीको उपस्थितिकै अगाडि ‘खुलेआम’ अवैध आयात भइरहेको स्थानीयले बताउने गरेका छन् ।
पर्सा, रौतहट, सर्लाही, धनुषालगायतका जिल्लामा सक्रिय अवैध कारोबारीहरू पछिल्ला केही दिनयता बारामा केन्द्रित भएको दाबी अधिकारीहरूले गरेका छन् । प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार बाराको सिम्रौनगढ, तामागढी, कबही, मटिअर्वा, इनर्वालगायतका क्षेत्रलाई भन्सार र प्रशासनको संयुक्त गस्तीले निगरानीमा राखेको छ ।
ती क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मीसहितका भन्सार प्रशासक र बाराका सिडियो गस्तीमा निस्किएपछि अवैध आयातमा संलग्नहरूलाई ‘मनोवैज्ञानिक त्रास बढेको’ दाबी उनले गरे । यो गस्ती अवैध आयात नियन्त्रणसँगै गढिमाई मेलामा सुरक्षा सतर्कता र प्रभावकारी व्यवस्थापनमा पनि लक्षित भएको सुरक्षा अधिकारीले बताएका छन् ।
मेलाको माहोलमा सीमाक्षेत्रमा हुन सक्ने अवाञ्छित गतिबिधि नियन्त्रणमा पनि गस्तीले सहयोग पुग्ने दाबी उनीहरूको छ । सीमावर्ती क्षेत्रमा राजस्व चुहावटका घटना बढेपछि गत महीनादेखि भन्सारले पर्सामा पनि गस्ती परिचालन गरेको थियो ।