बैतडीमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता हुँदै
बैतडी,असोज २७ । बैतडीमा जिल्लाकै हालसम्मकै सर्वाधिक पुरस्कार राशिको टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा ‘बैतडी सुपर लिग’ क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यस्तै, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही १५ हजार रुपैयाँ तथा उदीयमान खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा बैतडी जिल्लाका १० वटै स्थानीय तहका टोलीको सहभागिता रहनेछ। प्रतियोगिता समूह चरण, सुपर फोर र फाइनल गरी तीन चरणमा सञ्चालन गरिनेछ।
यस प्रतियोगितामा खेलाडीले गर्ने प्रदर्शनका आधारमा बैतडी जिल्लाको आधिकारिक टी–२० क्रिकेट टोलीसमेत छनोट गरिने संघले जनाएको छ। प्रतियोगिताको खेल तालिका र सञ्चालन मिति भने आगामी दिनमा सार्वजनिक गरिनेछ।

