टिकटकले छ हजार ७८ नेपाली भिडियो हटायो
काठमाडौ,मंसिर १९ । टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट भएका छ हजार ७८ भिडियो हटाएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।
काठमाडौंमा मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताए । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्ने लगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ । यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतना अभावका कारण गाइडलाइनको सही पालना नभएको उनले सुनाए ।