भ्रष्टाचारविरुद्ध प्रश्न उठाउँदा आफूमाथि प्रहार भयो : सांसद सुनुवार
काठमाडौं,असोज २७ । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनुवारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूविरुद्ध निरन्तर प्रहार भइरहेको बताएका छन्। उनले आफूमाथि लगाइएका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्।
सुनुवारले भिडियो सन्देश जारी गर्दै आफू विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको बताएका हुन्। उनका अनुसार आफूलाई जोडेर काल्पनिक महिलासँगको भनिएको श्रव्य संवाद सार्वजनिक गरिएको छ।
उनले सार्वजनिक भएका आरोपहरू कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर बनाइएका प्रचार भएको दाबी गरेका छन्। आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न उनले पार्टी र सरकारलाई आग्रह गरेका छन्।
“भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार र घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,” उनले भनेका छन्।
सुनुवारले आफूमाथि हुने छानबिनमा पूर्ण सहयोग गर्न तयार रहेको बताउँदै आम नागरिकलाई भ्रमपूर्ण प्रचारमा नपर्नसमेत अपिल गरेका छन्।

